कोरोनाविरुद्ध चिनियाँ सेनाले पार गर्‍यो कोसेढुङ्गा, पहिलो भ्याक्सिनले प्रयोगको अनुमति पायो

डिसी नेपाल
१६ असार २०७७ ८:५४

काठमाडौं। कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउने विश्वव्यापी अभियानमा चीनको सेनाले महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ । चीनको क्यान्सिनो बायोलोजिक्स कम्पनीसँग मिलेर चीनको सेनाको अनुसन्धान युनिटले विकास गरेको भ्याक्सिनले प्रयोगको अनुमति पाएको छ । यो भ्याक्सिनको प्रयोग चीनको सेनाबाटै सुरु गरिने रोयटर्सको समाचारमा उल्लेख छ

क्यान्सिनो बायोलोजिक्सले सोमबार एक वक्तव्य जारी गर्दै यो भ्याक्सिनको सुरुका २ चरणको परीक्षणमा यो सुरक्षित र प्रभावकारी भएको देखिएपछि यसले अनुमति पाएको जनाएको छ । एडी फाइभ एनसीओभी नामको यो भ्याक्सिन चीनका ती ८ सम्भावित भ्याक्सिनमध्येको एक हो जसले मानवमा परीक्षणको लागि अनुमति पाएका छन् । यो भ्याक्सिनले क्यानडामा परीक्षणको अनुमति पनि पाएको छ ।

चीनको सेन्ट्रल मिलिटरी कमिशनले २५ जूनमा यो भ्याक्सिन एक वर्षसम्म चीनको सेनाका जवानहरुमा प्रयोग गर्नको लागि अनुमति दिएको समाचारमा जनाइएको छ । क्यान्सिनोले आफ्नो बयानमा यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको ह्युमन ट्रायलमा यसमा कोरोनाभाइरस संक्रमणबाट बचाउने क्षमता भएको पाइएको जनाएको छ । ‘एडी फाइभ एनसीओभी अहिले सैन्य प्रयोगमा मात्र सीमित छ र यसको प्रयोग लोजिस्टिक सपोर्ट डिपार्टमेन्टको अनुमति बिना विस्तार गर्न सकिने छैन’ क्यान्सिनोले आफ्नो वक्तव्यमा भनेको छ ।

अहिलेसम्म यो भ्याक्सिनको व्यवसायिक सफलताको कुनै ग्यारेन्टीबारे बताइएको छैन । यद्यपि यो चीनको सबैभन्दा अगाडि रहेको भ्याक्सिन हो जसले परीक्षणको सबैभन्दा धेरै चरण पार गरिसकेको छ । यो कारणले यो भ्याक्सिनको सफलताले ठूलो आशा जगाएको छ । यो भ्याक्सिनले यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा सफलता पाइसकेको छ । अहिले विश्वभर करिब १०० सम्भावित भ्याक्सिनको विकास र परीक्षणको काम चलिरहेको छ । तर, अहिलेसम्म कुनै पनि भ्याक्सिनले व्यवसायिक प्रयोगको अनुमति भने पाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *