के यी भारतीय षड्यन्त्रप्रति बेखवर छन् ओली ?

डिसी नेपाल
१६ असार २०७७ ११:४१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक चल्दा चल्दै आफूविरुद्ध घेराबन्दी भएको र भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सारा शक्ति लगाएको कुरा सार्वजानिक गरे।

उनको यो भनाइपछि ओलीको सत्ताको आधार भारत र भारतीय हल्लाउँदा हल्लिने खालको मात्र थियो त? भन्ने महत्वपूर्ण प्रश्न उठेको छ। सँगसँगै कतिपय विद्वानहरु आफ्नो असफलताबाट जोगिन फेरि ओलीले राष्ट्रवादको नारा अघि सारेको भन्दै प्रधानमन्त्रीको भनाइलाई सामाजिक सञ्जालमा धज्जी उडाउने क्रममा नानीदेखिको बल लगाएर उत्रिएका छन्। के ओली आफ्नो सत्ता जोगाउन भारतविरोधी राष्ट्रवाद उचालिरहेका हुन् त? उनले भनेका कुराहरु असत्य हुन्?

सत्यताको कसीमा हेरौं। ओलीले दावी गरेजस्तै नेपालले आफ्नो देशको नक्सा संशोधन गरेर आफ्ना अतिक्रमित भूमिहरुलाई त्यसमा समावेश गरेपछि भारत आक्रसित भएको कुरा लुकेको छैन।

भारतले आफूले गरेको मनपरीमा नेपाल सरकार र नेपाली नेताहरुबाट समर्थन हुन्छ भन्ने सोचेको थियो तर ओली र उनको नेतृत्वको सरकारले भारतको सो सोचाइमाथि गम्भीर प्रहार गरिदियो जसले भारत नेपालमा आफ्नो प्रभुत्व गुम्ने डरबाट चिन्तित भएको छ। यही चिन्ताको परिणाम उसले विभिन्न माध्यमबाट ओली सरकार हटाउन ठूलो प्रयत्न गरेको पनि कसैबाट छिपेको छैन।

ओलीले भारतीय मिडिया र नेपालमा भएको भारतीय दूतावास आफ्नो सरकार हटाउने क्याम्पेनमा लागेको कुरा बोलेका छन्। भारतीय दूतावासले उसका सेकेण्ड म्यानको विदाइका अवसरमा २ नं प्रदेशका मुख्यमन्त्रीसहित मधेसकेन्द्रित, राजावादी र अरु केही आफ्ना तथाकथित एसेटहरुलाई भेला गरेर ओली सरकारविरुद्ध लाग्न प्रेरित गरेको कुरा पनि सार्वजानिक भइसकेको छ।

उनकै मन्त्रिपरिषद्का सदस्यहरुले आआफ्नो जिम्मेवारीको कुरामा फैलिएका भ्रमहरुबारे बोल्नु पर्ने हो तर आधाजसो मन्त्रीहरु प्रचण्डको कोटाबाट परेका छन् उनीहरु बोलेर ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छैनन्। मौनता सांधेर बसेका छन्।

प्रधानमन्त्रीको तहबाट सो कुरा बोल्नुभन्दा पहिला उनले नेपाल सरकारविरुद्ध भारतीय दूतावासको रबैयाबारे मन्त्रालयमा हाजिर गराइ राजदूतलाई सोध्न सकेको भए त्यो निकै दह्रो कदम हुनसक्थ्यो तर यसको अर्थ भारतको नेपालविरोधी कदम सार्वजानिक हुनुहुदैनथ्यो भन्ने कदापि हुँदैन। ओलीले नेपाली जनतालाई भारतीय रबैयाबारे सूचित गरेका छन्, उनको पद जोगिनु नजोगिनु अलग कुरा हो।

उनकै पार्टीका नेताहरु खासगरी पुष्पकमल दाहाल विगतदेखि नै भारतबाट प्रयोग हुँदै आएको कुरा कतै पनि छिपेको छैन। संसदको गत अधिवेशनमा नेकपाका सांसद खगराज अधिकारीले सीमा सुरक्षाका बारेमा राखेको संकल्प प्रस्तावलाई संसदको कार्यसूचिबाट हटाउने सम्मको काम गरेर उनले भारतलाई गुन लगाएको कुरा पनि सार्वजानिक भइसकेकै छ।

ओलीले चीनसँग गरेको व्यापार र पारवाहन प्रोटोकलमा हस्ताक्षर गरेर नेपालका लागि उत्तरी ढोका खुल्ला गरेको र समुद्रसम्मको पहुँच दिएको कुरामा अहिलेसम्म कसैले दुईमत राखेको देखिएको छैन बरु भारतीयहरुले नेपालले चीनको बाटो पनि खोलेकोले अब आफ्नो मुठ्ठीभित्रबाट उम्किएको र त्यस्तो काम गर्ने ओलीलाई भारतविरोधी भन्दै चर्को प्रचार गर्दै आएका छन्।

नेपालका तथाकथित भारतपरस्त र ओलीबिरोधी कलमबाजहरुले राष्ट्रिय हीतमा गरेको चीनसँगको सो विषयलाई भारतविरोधी राष्टबादका रुपमा परिभाषित गरिरहने घृष्टता देखाएर भारतीय सत्ताको तावेदारी गरेको कुरा अव लुक्ने विषय रहेन।

यी कुरा किन बोलेनन् ओलीले ?

नेपालमा आफूले चाहेजस्तो काम गर्न नसके भारतले अनेक जटिलताहरु खडा गरिदिएर मुलुकलाई नै अप्ठेरोमा पारिदिने गरेको छ। सीमा नक्साका बारेमा भारतले नेपालविरुद्ध गरेको प्रचारलाई अन्तर्राष्ट्रिय समुदायले चासो दिएन। यसको अर्थ नेपाल पीडित नै हो र भारतले पीडा दिएको हो भन्ने कुरामा अन्तर्राष्टिय समुदायको मत प्रकट गरेको बुझ्न भारतले ढिला गरेन।

यस्तो अवस्थामा चीनको पोल्टामा नेपाल गएको कुराको दह्रो अफवाह फैलाउन सके नेपाललाई अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याउन सकिन्छ भन्ने भारतको रणनीतिले गत साताभरि नेपाल, भारत र दक्षिण एशियामा ठाउँ पायो।

चीनले नेपालका अनेकौं ठाउँमा सीमा मिचेको नक्कली समाचार नेपालका ठूला मिडियाहरुबाट प्रेसित गराएर भारतले ओलीविरुद्ध प्रहार केन्द्रित गरायो। तर, भारतको रणनीतिक दुष्प्रचार लामो समय टिकेन। सो विषय तथ्यहीन र प्रायोजित ठहरियो।

नेपाललाई आतंकवादसँग जोड्ने र दुनियाँभरमा हल्ला मच्चाउने भारतीय प्रयास यो हप्ताको नेपालविरुद्धको रणनीतिक अभियान हो। अनेक थरिका आतंकवादीहरु भारतमा क्रियाशिल छन्। यीमध्ये कतिपयलाई पाकिस्तानको गुप्तचर संस्था आईएसआईले प्रयोग गर्दै आएको पनि छ।

आफ्नो देशभित्रका आतंकीहरु नियन्त्रण गर्न असक्षमजस्तै बन्दै आएको भारत ती आतंकवादीहरु नेपालको भूमि प्रयोग गर्छन् भन्ने हल्ला चलाएर नेपाल उनीहरुको क्रिडास्थल बनेको सन्देश प्रवाह गर्न भारतीय सत्ताले यो हप्ताको समय खर्च गरेका छन्।

भारतका उत्तर प्रदेश र विहार राज्यमा नेपालका कारण हाइअलर्ट राख्नु परेको भन्दै भारतीय मिडियामा समाचारहरु प्रकाशित प्रसारित हुनु भारतीय नयाँ गेम प्लानको उपज हो। भारतसँगको खुल्ला सिमानाका कारण अन्तर्राष्ट्रिय समुदायले यो विषयलाई ‘हो कि क्या हो’ भन्ने दृष्टिकोण राख्न सक्ने हुँदा यो हल्लालाई अन्तर्राष्ट्रिय आतंकवादसँग जोडेर नेपालविरुद्ध दुष्प्रचार अझ बढ्न सक्ने देखिएको छ।

नेपालमा महाकाली सन्धिको विरोधमा दरिलो जनमत बन्दै जाँदा भारतले एउटा गेमप्लान सार्वजानिक गरेको थियो। त्यसमा नेपालका उच्चपदस्थ कर्मचारी, नेता, पत्रकारमात्र होइन तत्कालीन महारानी ऐश्वर्यलाई पनि भारतविरोधी अन्तर्राष्ट्रिय तत्वको एजेण्ट भएको दावी गरिएको थियो र उनीहरुलाई बद्नाम गराएर प्रचार गर्न भारत सक्षम पनि भएको थियो।

यस्तै अवस्था तत्कालीन राजा बीरेन्द्रले नागरिकतासम्बन्धी विधेयकलाई लालमोहर नलगाइदिँदा भारतले राजा बीरेन्द्र र उनको परिवारका विरुद्ध अन्तर्राष्ट्रियस्तरमै नकारात्मक समाचारहरु प्रवाहित गराएको थियो।

त्यसैगरी संविधानसभाबाट आफूले चाहेजस्तो संविधान बनाउन नसक्ने अवस्था देखेपछि भारत नेपालका नेताहरुलाई खुल्लारुपमै दवाव त दिएको थियो नै उनीहरुलाई आतंकवादीबाट ज्यानको जोखिम भएको कुरा पत्रै लेखेर भनेको थियो। तै पनि भारतले भनेजस्तो संविधान लेखिएन। त्यस्तो परिणाम नेपालले लामो अमानवीय नाकाबन्दी व्यहोर्नु परेको थियो।

नेपालको शासन आफू अनुकूल नहुने अवस्थामा भारतले गर्ने दुस्प्रयासको अवस्थालाई प्रतिवाद गर्न नेपालका राष्ट्रिय संस्थाहरु कमजोर सावित हुँदै आएका छन्। नेपाली सेनाले यस्तो अवस्थाको नजिकबाट हेर्ने गरेको भएपनि विगतमा सत्ता र सेनाका बीचमा सुमधुर सम्बन्ध नहुने र सैनिक नेतृत्व स्वयं नै सत्ता परिवर्तनको खेलमा लाग्ने कतिपय परिस्थितिका कारण त्यस्ता जटिलताका बिरुद्ध दृढतापूर्वक प्रतिवाद गर्ने अवस्था आएको देखिएन।

अहिलेको सरकारको नेतृत्व र नेपाली सेनाको नेतृत्वका बीच सुमधुर सम्बन्ध देखिएको छ। यो अवस्थामा यस्तै हल्लाहरु चलाएर हतियारधारीहरुको घुसपैठ गराउने र मुलुकको सुरक्षामा धावा बोल्न सक्ने भारतीय षड्यन्त्रलाई चिर्न तथा भारतीय सुरक्षा र प्रतिरक्षासम्बन्धी दुस्प्रचारहरुका बिरुद्ध सेनाले कस्तो रणनीति तय गर्ला त्यो समयले देखाउला। तर, ओलीले आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरेको कुरा बताए पनि षड्यन्त्रका यी वान्कीहरु खुलाएनन् । के ओली यी भारतीय गेमप्लानहरु बारे बेखवर छन्?

किन आफैं बोल्छन् ओली ?

प्रधानमन्त्री ओली आफ्नो सरकारबिरुद्ध देश विदेशबाट उठाइएका आशंका र प्रश्नहरुको जवाफ आफैं दिन अघि सर्छन्। कतिपय अवस्थामा आफू र सरकारविरुद्ध प्रश्न उठाउनेहरुलाई तल्लोस्तरमा सार्वजानिकरुपमै गाली पनि गर्छन्।

कतिपय अवस्थामा उनको यो तरिका उनकै निम्ति समस्या पनि बन्दै आएको छ। तर, किन ओली यसरी बोल्छन् त? किनकि ओलीका लागि बोलिदिने उनको सचिवालय विवादित छ। तिनले बोली हाले पनि छुद्रताको हद पार गरेर बोल्छन् जुन कुरा नेपाली समाजले सहजै पचाउन सकेको देखिँदैन।

उनकै मन्त्रिपरिषद्का सदस्यहरुले आआफ्नो जिम्मेवारीको कुरामा फैलिएका भ्रमहरुबारे बोल्नु पर्ने हो तर आधाजसो मन्त्रीहरु प्रचण्डको कोटाबाट परेका छन् उनीहरु बोलेर ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छैनन्। मौनता सांधेर बसेका छन्।

पछिल्लाे समय ओली नेतृत्वको सरकार काेराेना भाइरससँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिदका सन्दर्भमा भ्रष्टाचारकाे दलदलभित्र फसेकाे छ। यसमा उपप्रधान तथा रक्षामन्त्री प्रत्यक्ष रूपमा जाेडिएका छन्। र, उनले भ्रष्टाचार नभएकाे प्रमाण जनतासामू दिन सकेकाे स्थिति छैन। पार्टीभित्रको चर्को गुटबन्दी र भारतीय प्रभावका कारण पार्टीको माथिल्लो तप्का सरकारको बचाउमा बोल्न चाहँदैन।

त्यसैले सानाभन्दा साना आलोचना र प्रश्नहरुमा ओलीले नै बोल्नुपर्ने अवस्था छ। सरकारमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका हैसियतले दिनैपर्ने नैतिक जिम्मेवारी पनि ओलीकै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *