चारदिनमा कहाँ कहाँ पुग्यो सलह, क्षति कति?

डिसी नेपाल
१६ असार २०७७ १९:५०

काठमाडौं। बालीनाली खाएर सखाप पारिदिने किरा सलह नेपाल प्रवेश गरेको मंगलबार चौथो दिन हो। चौथो दिन सलह राजधानी काठमाडौं उपत्याकासमेत देखिएको छ। तराईँको बारा, सर्लाही, रौतहट, मकवानपुर र पर्साबाट नेपाल प्रवेश गरेको सलह काठमाडौं पुग्दा बाटोमा अन्नबाली र तरकारी बाली तहसनहस पार्दै उक्लिएको छ।

कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजमेन्ट सेन्टरले सलह प्रवेश गरेको चौथो दिनसम्मको विवरण सार्वजनिक गरेको छ।

सेन्टरका अनुसार पहिलो दिन पाँचवटा जिल्लामा देखिएको सलह मंगलबारसम्म आइपुग्दा २६ वटा जिल्लामा देखिएको छ। सलह पूर्वी तराईँका जिल्लामा देखिएको छैन भने सुदूर पश्चिमको कैलालीको धनगढी क्षेत्रमा देखिएको सेन्टरले जनाएको छ। यस्तै पूर्वी पहाडको खोटांग, पाँचथर र उदयपुरमा देखिएको छ।

सेन्टरले क्षतिको यकिन विवरण भने आइनसकेको जनाएको छ। तर, केही स्थानमा धानको विउ र रोपिएको धान, मकै, तरकारी र केराखेतीमा क्षति पुगेको जनाएको छ। तर, त्यो क्षति कति हो भन्नेबारे भने सेन्टरले यकिन भइनसकेको जनाएको छ।

यस्तै सेन्टरले सलह मध्य र तराईका जिल्लामा प्रवेश गर्ने भन्दै आवश्यक उपाय अपनाउन सूचना जारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *