कविता : म अनौठो चित्रकार छु

दिनेश घिमिरे
२० असार २०८३ ८:१२

मान्छेहरूको भिडभित्र मान्छे कोर्न खोज्छु,

मान्छेहरू मान्छेको आकार बन्न दिँदैनन्।

मान्छेहरू घरिघरि अनेकौँ रूप देखाउँछन्,

आवश्यकता र प्रवृत्तिहरूमा आकार फरक छ,

म अनौठो चित्रकार छु, आकार बदलिरहन्छु।।

मान्छेहरू आफ्नै स्वभावमा मलाई हेर्छन्,

के देख्छन् कुन्नि, आकृतिहरू फरक देखिन्छन्।

अनि म मान्छेको विकरालताको विषय बन्न पुग्छु,

अठेस-मठेस कुराहरू विरुद्धमा आइदिन्छन्,

म अनौठो चित्रकार छु, कुराहरू बदलिरहन्छु।।

मान्छेहरू आफ्नै आवश्यकतामा मलाई हेर्छन्,

आवश्यकताहरूको रैथाने भिडमा घुमाइरहन्छन्।

अनि म अनौठो व्याकुलतामा उत्प्रेरित हुन्छु,

बेस्वादका कथाहरूमा आफैँलाई बेचिरहन्छु,

म अनौठो चित्रकार छु, कथाहरू बदलिरहन्छु।।

मान्छेहरू आफ्नै प्रवृत्तिहरूमा मलाई हेर्छन्,

कसैलाई म कठिन देखिन्छु, कसैलाई सरल।

अनि म विभिन्न अध्यायहरूमा पोखिइरहन्छु,

कुनै कल्पनाले आफैँ बाँधिएको जस्तो,

म अनौठो चित्रकार छु, त्यस्तै कल्पना गरिरहन्छु।।

मान्छेहरू आफ्नै कहानीमा मलाई हेर्छन्,

कसैले आँसु देख्छन्, कसैले उत्प्रेरणा देख्छन्।

अनि म भिन्न स्वरूपमा आफैँलाई खोजिरहन्छु,

कहिले समाजमा, कहिले व्यक्तिहरूभित्र,

म अनौठो चित्रकार छु, आकार बदलिरहन्छु।।

बिरुवा, भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *