कविता : म अनौठो चित्रकार छु
मान्छेहरूको भिडभित्र मान्छे कोर्न खोज्छु,
मान्छेहरू मान्छेको आकार बन्न दिँदैनन्।
मान्छेहरू घरिघरि अनेकौँ रूप देखाउँछन्,
आवश्यकता र प्रवृत्तिहरूमा आकार फरक छ,
म अनौठो चित्रकार छु, आकार बदलिरहन्छु।।
मान्छेहरू आफ्नै स्वभावमा मलाई हेर्छन्,
के देख्छन् कुन्नि, आकृतिहरू फरक देखिन्छन्।
अनि म मान्छेको विकरालताको विषय बन्न पुग्छु,
अठेस-मठेस कुराहरू विरुद्धमा आइदिन्छन्,
म अनौठो चित्रकार छु, कुराहरू बदलिरहन्छु।।
मान्छेहरू आफ्नै आवश्यकतामा मलाई हेर्छन्,
आवश्यकताहरूको रैथाने भिडमा घुमाइरहन्छन्।
अनि म अनौठो व्याकुलतामा उत्प्रेरित हुन्छु,
बेस्वादका कथाहरूमा आफैँलाई बेचिरहन्छु,
म अनौठो चित्रकार छु, कथाहरू बदलिरहन्छु।।
मान्छेहरू आफ्नै प्रवृत्तिहरूमा मलाई हेर्छन्,
कसैलाई म कठिन देखिन्छु, कसैलाई सरल।
अनि म विभिन्न अध्यायहरूमा पोखिइरहन्छु,
कुनै कल्पनाले आफैँ बाँधिएको जस्तो,
म अनौठो चित्रकार छु, त्यस्तै कल्पना गरिरहन्छु।।
मान्छेहरू आफ्नै कहानीमा मलाई हेर्छन्,
कसैले आँसु देख्छन्, कसैले उत्प्रेरणा देख्छन्।
अनि म भिन्न स्वरूपमा आफैँलाई खोजिरहन्छु,
कहिले समाजमा, कहिले व्यक्तिहरूभित्र,
म अनौठो चित्रकार छु, आकार बदलिरहन्छु।।
बिरुवा, भक्तपुर












Facebook Comment