नियात्रा: माडीको ऐतिहासिक गरिमा र पर्यटकीय सम्भावना

भूमिका गैरे तिमिल्सिना
२० असार २०८३ ८:१४

रोटरी क्लब अफ गैैंडाकोट (क्लब आईडी नं. ८८५५२) को रोटरी वर्ष २०२५-२०२६ का अध्यक्ष रो. हिरालाल अर्यालको पाँचौँ क्लब सभा तथा रोटरी वर्ष २०२६-२०२७ का अध्यक्ष रो. रामहरि श्रेष्ठको प्रथम क्लब सभाको संयुक्त आयोजनाका लागि हामीले माडी-८ मा अवस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई रोज्यौँ।

‘आफ्नो स्वार्थभन्दा माथि सेवा’ भन्ने रोटरीको मूल मर्मलाई आत्मसात् गर्दै २०८३ साल असार ५ गते (तदनुसार १९ जुन २०२६) एजी र पूर्वअध्यक्षहरू सहित हामी २६ जना रोटरियन साथीहरूको जम्बो टोली १० वटा निजी गाडीमा दिउँसो ४:०० बजे गैंडाकोटबाट प्रस्थान गर्‍यौँ। यस यात्रामा वर्ष २०२६-२०२७ की सचिवका रूपमा लेखक स्वयम् म पनि सहभागी थिएँ।

हामीले बेलुका ८:०० बजेबाट संयुक्त क्लब सभाको औपचारिक कार्यक्रम सुरु गर्‍यौँ। कार्यक्रममा वर्ष २०२५-२०२६ को प्रगति प्रतिवेदनमाथि एजी हरिकुमार श्रेष्ठले र वर्ष २०२६-२०२७ को भावी कार्ययोजनामाथि एजी भरत पोख्रेलले समीक्षा गर्दै नयाँ कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो।

औपचारिक सेसन सकिएलगत्तै स्थानीय गुरुङ समुदायले हामीलाई आफ्नो परम्परागत सोरठी, कौडा, मारुनी, सालौजो र थाली नाचमार्फत सांस्कृतिक स्वागत गरे। होमस्टेका अध्यक्ष मोहन पुनका अनुसार यो होमस्टे विक्रम संवत् २०७२ साल पुस १२ गते तत्कालीन वन तथा भू-संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाबाट उद्घाटन भई सञ्चालनमा आएको हो।

भरतपुर चौबीसकोटीबाट दक्षिणतर्फ ४५ किलोमिटर र काठमाडौँबाट १९० किलोमिटरको दुरीमा रहेको यस होमस्टेले आफ्नो कुल आम्दानीको १० प्रतिशत रकम जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन कोषका लागि छुट्याउने गरेको जानकारी पनि उहाँले दिनुभयो। रातको ११:०० बजे स्थानीय स्वादिष्ट भोजन ग्रहण गरेर हामी विभिन्न होमस्टेमा विश्रामका लागि लाग्यौँ।

भोलिपल्ट बिहान ७:०० बजे सबै साथीहरू रेष्टुरेन्टमा जम्मा भयौँ र केही साथीहरू खाजा खाएर घर फर्कनुभयो भने हामी १० जनाको टोली माडीको अयोध्यापुरीमा रहेको प्रसिद्ध श्रीराम मन्दिरको दर्शनका लागि अघि बढ्यौँ। बागमती प्रदेशको चितवन जिल्लामा पर्ने माडी क्षेत्र भरतपुरबाट करिब ३८ किलोमिटर दक्षिणबाट सुरु हुन्छ।

पूर्व-पश्चिममा राजमार्ग, उत्तरमा चुरे पहाड र दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो क्षेत्र जैविक विविधताले सुसज्जित एक सुन्दर उपत्यका हो। परापूर्वकालमा माण्डव्य ऋषिले तपस्या गरेको भूमि भएकाले यसको नाम ‘माडी’ रहन गएको जनविश्वास छ भने अर्कोतर्फ आदिवासी थारू समुदायले पानी जमेको ठाउँलाई ‘माड’ भन्ने गरेकाले त्यसैको अपभ्रंश रूप माडी भएको किंवदन्ती पनि पाइन्छ।

ऐतिहासिक दृष्टिकोणले हेर्दा लिच्छविकालमा राजा मानदेवले मल्लपुरी आक्रमण गरी काठमाडौँ फर्कने क्रममा यस क्षेत्रमा थारू जातिको बसोबास गराएको इतिहास छ, जसलाई चितवनमा मानवीय बस्तीको सुरुवात भएको बिन्दु पनि मानिन्छ।

पछि पाल्पाका राजा मणिमुकुन्द सेनले माडीमा विजय प्राप्त गरेपछि सोमेश्वर पहाडमा सैन्य तथा सुरक्षा किल्लाका रूपमा ‘सोमेश्वर गढी’ निर्माण गरेका थिए। करिब एक सय बिगाहा क्षेत्रमा फैलिएको श्रीराम मन्दिरमा राम, सीता, लक्ष्मण र हनुमानका आकर्षक मूर्तिहरू स्थापना गरिएका छन्।

मन्दिरका पुजारी बुद्धि कुइँटेलका अनुसार शास्त्रमा हनुमानले द्रोणागिरी पर्वतबाट बुटी लैजाँदा केही भाग यसै सोमेश्वर पर्वतमा खसेको उल्लेख छ र यहाँ दुर्लभ जडीबुटीहरू पाइने हुनाले पहिले सिंहदरबारको वैद्यखानाका लागि समेत यहाँबाट जडीबुटी लैजाने गरिन्थ्यो।

श्रीराम मन्दिरको दर्शन पूरा गरेर हाम्रो यात्रा पर्साको ठोरीतर्फ अघि बढ्यो। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गल, कच्ची ग्राभेल बाटो र असंख्य साना खोलाहरू छिचोल्दै अघि बढ्दा हामीले एकसिङ्गे गैँडा, जङ्गली हात्ती, मृग र विभिन्न प्रजातिका चराचुरुङ्गीहरू नियाल्ने अवसर पायौँ। मधेस प्रदेशको पर्सा जिल्लामा पर्ने ठोरीलाई ‘मिनी उपत्यका’ पनि भनिन्छ।

रामायण कालसँग जोडिएका पुरातात्विक भग्नावशेषहरू, सीता गुफा, वनशक्ति मन्दिर र बाघमोर्चा मन्दिरका कारण यो क्षेत्र धार्मिक र प्राकृतिक दुवै दृष्टिकोणले प्रख्यात छ। महुवन गाउँमा रहेको पारसनाथ मठको नाम अपभ्रंश भएर पर्सा जिल्लाको नामकरण भएको लोकोक्ति छ, जहाँको उष्ण हावापानी र समथर भूभाग कृषि उत्पादनका लागि निकै अब्बल मानिन्छ।

माडी क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यापर्यटनका हिसाबले अथाह सम्भावनाले भरिएको क्षेत्र हो। यहाँ वाल्मीकि आश्रम, विक्रमबाबा, सोमेश्वर गढी, वैकुण्ठ ताल, गोद्धकधाम, बाँदरमुढे शान्ति पार्क जस्ता दर्जनौँ पर्यटकीय गन्तव्यहरू र विभिन्न आदिवासी समुदायका सामुदायिक होमस्टेहरू रहेका छन्।

तर, यति धेरै सम्भावना र प्राकृतिक सौन्दर्य हुँदाहुँदै पनि माडीको करिब ६० हजार जनसङ्ख्या दिउँसो-दिन घट्दो क्रममा रहनु र युवा तथा राजनीतिक नेतृत्व बाहिरिनु चिन्ताको विषय बनेको छ। फगत राजनीतिक खिचातानीबाट टाढा रहेर यहाँका रैथाने थारू, बोटे, दरै, कुमाल र चेपाङ बस्तीका समस्या समाधान गर्न र यो अलौकिक भूमिलाई ओझेलमा पर्न नदिन स्थानीय सरोकारवाला, विज्ञ र राज्यले विशेष ध्यान दिनु आवश्यक छ।

मृगको नाइटोमा कस्तूरीको सुगन्ध भएर पनि उसले पहिचान गर्न नसकी जङ्गलभरि भौँतारिए झैँ हामीले आफ्नै देशको अथाह सम्भावनालाई चिन्न नसकेको हो कि भन्ने भान हुन्छ। ठोरी, सुवर्णपुर, वीरगञ्ज र हेटौँडा हुँदै अमलेखगञ्जमा खाना खाएर अपराह्न ४:०० बजे सकुशल घर फर्किएपछि हाम्रो यो यात्रा सकियो।

तर, यस नियात्राले हामीलाई के सिकाएको छ भने, अरूको देशको विकास हेरेर लोभिनुभन्दा आफ्नै भूमिमा लुकेर रहेका यस्ता ऐतिहासिक र प्राकृतिक धरोहरहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार-प्रसार गरी देशको आर्थिक र सांस्कृतिक गरिमा बढाउनु हामी सबैको साझा दायित्व हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *