सरकारले चीनविरोधी कदम उठाउँदा भारतीय क्रिकेट बोर्ड अप्ठ्यारोमा

डिसी नेपाल
१८ असार २०७७ ९:४४

काठमाडौं। चीनसँग जारी विवादका बीच भारतले ५९ चिनियाँ एप बन्द गर्ने निर्णय गरेको छ । मोदी सरकारले सोमबार चिनियाँ एप बन्द गरेसँगै भारतीय क्रिकेट बोर्ड बीसीसीआइ दबाबमा परेको छ । आर्थिक हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष प्रायोजक चिनियाँ मोवाइल ब्राण्ड भिभो हो र यही बीसीसीआइको अप्ठ्यारोको कारण हो ।

देशमा चीनविरोधी राष्ट्रियताको भावना विकसित हुँदै जाँदा बीसीसीआइमाथि भिभोसँगको सम्झौता तोड्न दबाब बढेको छ । तर, यसो गर्दा भिभोलाई फाइदा हुने भएमा बीसीसीआइ सम्झौता जारी राख्ने पक्षमा छ । सम्झौता तोड्दा भिभोलाई फाइदा हुने स्थितिमा सम्झौता जारी रहनेछ र यसो भएमा बीसीसीआइमाथि नैतिक दबाबको अवस्था आउन सक्छ । भारतमा क्रिकेट र राष्ट्रियता सँगसँगै जोडिएर आउने गरेका छन् । क्रिकेटमा भएको हारजीतलाई राष्ट्रियतासँग जोडेर खेलाडीमाथि नै आक्रमणका घटना समेत भइसकेको भारतमा यो सम्झौताले ठूलो विवाद ल्याउन सक्छ ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेअनुसार बीसीसीआइका एक बरिष्ठ अधिकारीले बुधबार करार तोड्ने नियमबाट भिभोलाई फाइदा हुने अवस्थामा करार जारी राख्ने बताइसकेका छन् । १५ जूनमा गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि बीसीसीआइले आइपिएलका प्रायोजकको समीक्षा गरिने बताएको थियो । यद्यपि यसको लागि आइपिएल संचालन परिषदको बैठक कहिले बस्ने भन्नेबारे उनले केही बताएनन् ।

आइपिएलको शीर्ष प्रायोजनवापत भिभोसँग प्रतिवर्ष ४ अर्ब ४० करोड भारु बराबरको सम्झौता भएको छ । २०१५ देखि भिभो आइपिएलको शीर्ष प्रायोजक छ । २०१८ मा यो सम्झौता ५ वर्षको लागि नवीकरण भएको छ जुन २०२२ सम्म जारी रहनेछ । यदि अहिले नै बीसीसीआइले भिभोसँगको सम्झौता एकपक्षीय रुपमा तोड्न चाहेमा उसले भिभोलाई ठूलो रकम क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

अर्कोतर्फ यस वर्ष हुने भनिएका एसिया कप र टि–२० विश्वकप आयोजना पनि अनिश्चित छ । एसिया कप पाकिस्तानले आयोजना गर्दैछ जुन सम्भवतः युएइमा हुनेछ । टि–२० विश्वकप अस्ट्रेलियाले आयोजना गर्दैछ । यी दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसकेमा यही वर्षको अन्त्यमा आइपिएल आयोजना गर्ने बीसीसीआइले तयारी गरेको छ । यदि अहिले भिभोसँगको सम्झौता तोडेमा बीसीसीआइले यति कम समयमा अर्को प्रायोजक पाउन पनि निकै कठिन छ किनकि कोरोनाभाइरस महामारीका कारण पूरै विश्वको अर्थव्यवस्था धराशायी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *