प्रचण्डलाई ओलीको प्रस्ताव दुई अध्यक्ष मिलौं, प्रचण्डले भने मेरो गल्ती कहाँ भयो?

डिसी नेपाल
१८ असार २०७७ १२:०९

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई मिलेर पार्टी संचालन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार विहान आफू निकट नेताहरुलाई प्रचण्ड निवास खुमलटार पठाएर ओलीले दुई अध्यक्ष मिलेर पार्टी र सरकार संचालन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

साथै ओलीले बहुमतको दम्भ देखाए पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिएको छलफलमा सहभागी एक नेताले डिसी नेपाललाई जानकारी दिए।

स्रोतका अनुसार ओली पक्षधर नेताहरुले प्रचण्डलाई दुई अध्यक्षबीच सहमति भएर पार्टी एकीकरण भएको र अहिलेसम्म पनि दुई अध्यक्षको सहमतिमा पार्टी संचालन भएको भन्दै फेरि पनि मिलेर जाने प्रस्ताव गरेका थिए।

प्रचण्डलाई भेट्न बिहीबार विहान ओली निकट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, सवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र रघुवीर महासेठ गएका थिए।

जवाफमा प्रचण्डले प्रधानमन्त्रीलाई बारम्बार अवसर दिएको तर प्रधानमन्त्रीले बेवास्ता गरेका कारण अब पार्टीको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने जवाफ दिएको स्रोतले जनाएको छ।

‘मैले सहमतिमा आलोपालोको प्रावधान पनि छोडेँ, मैले कुनै गल्ती गरेको भए देखाउनुस्। अब पार्टीले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नुपर्छ,’प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले भारतलाई चिढाउने काम गरेको, बैठक छल्ने तर अन्त गएर घण्टौं भाषण गर्ने गरेको भन्दै गुनासो गरेका थिए। ओली पक्षधरका नेताहरुले दुई अध्यक्ष मिल्नु पर्ने बताएपछि प्रचण्डले मिलन विन्दुको प्रस्ताव के छ भनेर सोधेका थिए। तर उताबाट कुनै प्रस्ताव पेश नभएको एक नेताले जनाए।

प्रचण्डले बारम्बार आफूहरु धेरै अगाडि बढिरसकेको बताउँदै अब पार्टीले गर्ने निर्णयलाई सबैले मान्नु पर्ने बताएका थिए।
उक्त भेटवार्तामा पूर्वमाओवादीतर्फबाट प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्तेतलगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *