स्थायी कमिटीमा भएका पूर्व माओवादीका मन्त्रीबिना २ मिनेट मन्त्रिपरिषद बैठक, संसद अधिवेशन अन्त्य गर्ने निर्णय

डिसी नेपाल
१८ असार २०७७ १२:४३

काठमाडौं । मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । पूर्वमाओवादीका मन्त्रीहरुबिना २ मिनेट बसेको बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

पूर्वमाओवादीतर्फका मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापा बादल, सिंचाइमन्त्री वर्षमान पुन लगायतका नेताहरु पार्टीको स्थायी कमिटी बैठकमा रहेका बेला बसेको बैठकले आज साँझ ५ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार केही मन्त्रीहरु बैठकका लागि बैठककक्षमा प्रवेश गर्दै गर्दा प्रधानमन्त्रीले बैठक सकिसकेका थिए । भित्र छिर्दै गरेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिएका थिए ।

संसद अधिवेशन अन्त्य भएपछि अब तिहार अघिसम्म कुनै पनि विधेयक पास हुने छैनन् । अब आवश्यक कानुनहरु सरकारले अध्यादेशमार्फत लागू गराउनेछ । अध्यादेश मन्त्रिपरिषदले ल्याउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागु हुने कानुनी व्यवस्था छ । यद्यपि ती अध्यादेशलाई संसदले अनुमोदन भने गर्नुपर्छ । अध्यादेश जारी भएको मितिले ६ महिनाभित्र संसदबाट पारित नभए अध्यादेश स्वतः खारेज हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *