भारतलाई संकेत गर्दै पराराष्ट्र मन्त्रीले भने-होस्ट देशले मापदण्ड पालना नगर्दा नेपालमा कोरोना संक्रमण बढ्यो

डिसी नेपाल
२० असार २०७७ ७:४६

वासिंगटन डिसी। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोनाको प्रकोप बढ्नुमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउँदा होस्ट देशले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा नगर्नु मुख्य कारण रहेका आरोप लगाएका छन्।

गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नलेज कन्भेन्सनको शनिबार उद्घाटन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन्। विदेशबाट फर्किएका नेपालीहरुको तथ्यांक पेश गर्दै उनले विश्मा कोरोनाको प्रकोप बढिरहेका बेला दुई महिनासम्म संक्रमण बढ्नबाट रोक्न सफल भएको नेपालमा पछिल्ला दिनमा संक्रमण बढ्नुमा बाहिरबाट नेपाली फर्काउँदा होस्ट मुलुकले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना नगरिदिएको बताए।

कुनै पनि मुलुकको नाम किटान नगरे पनि उनको संकेत नेपालको छिमेकी मुुलुक भारततर्फ थियो। नेपाली कामदार कार्यरत रहेका खाडी मुलुकहरु अधिकांशले कोरोना परीक्षण गरेरमात्र नेपाल पठाउने गरेका छन्। तर, छिमेकी मुलुक भारतबाट नेपाल फर्केका नेपाली कामदारहरुको कोरोना परीक्षण गरिएको छैन।

कोभिड १९ को प्रकोप शुरु भएका दिनहरुमा भारत र नेपाली दुबैले एकअर्को देशमा आउ जाउ गर्ने नागरिकहरुको कोरोना परीक्षण गर्ने सहमति गरे पनि पछि भारतले त्यसबारे कुनै मतलव गरेन। ट्रक र बसमा मान्छे राखेर सीमा ल्याउँदै छोड्दै गरेर नेपाल सरकारलाई असहयोग गर्ने काम भारतले गरेको थियो।

अमेरिकी समयको साँझ ७ बजे तथा नेपाली समयअनुसार, विहान ५ बजेर ४५ मिनेटमा सम्मेलनको उद्घाटन गर्दैैै मन्त्री ज्ञवालीले यसअवधिमा भारतबाट मात्रै अढाइ लाख नेपालहरु स्वदेश फर्किएको बताए। तेस्रो मुलुकबाट नेपाल फर्कने संख्या १६ हजारको हाराहारीमा पुगेको उनको भनाइ थियो।

होस्ट देशले मापदण्ड पालना नगरिदिए पनि नेपाल सरकारले कोरोनाको प्रकोपबाट नेपालीलाई जोगाउन भरमग्दुर प्रयास गरिरहेको उनले दावी गरे। उनले नेपाल सरकारले विदेशमा ज्यादै संकटमा परेका नेपाली नागरिकहरुको उद्धार गर्ने कार्य जारी राखेको जानकारी पनि दिएका थिए।

प्रवासमा बस्ने नेपालीहरुले आर्जन गरेको ज्ञान, सीपलाई नेपालको विकासमा प्रयोग गर्ने नेपाल सरकारको सोचाइ रहको बताउँदै उनले नेपाललले स्थापना गरेको ब्रेन गेन सेन्टरमा ९ सय विज्ञहरु जोडिइसकेको जानकारी पनि दिएका थिए।

उनले अमेरिकामा आर्जन गरेको ज्ञान,सीपलाई मातृभूमिको विकासमा प्रयोग गर्न उनले अमेरिकाबासी नेपाली र नेपाली मुलका व्यक्तिहरुसमक्ष आग्रह गरे। कार्यक्रममा परराष्ट मन्त्री ज्ञवालीको उद्घाटन मन्तब्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मेलन सफलताको शुभकामना पत्र वाचन गरिएको थियो भने नेपाली कांग्रेसका नेताहरु डा.शेखर कोइराला र डा. प्रकाशशरण महत पनि मन्तब्य राखेका थिए।

एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहको सभापतित्वमा सम्पन्न सो भर्जुअल सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र एनआरएनएका अध्यक्ष कुमार पन्तले पनि शुभकामना मन्तव्य राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *