प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुन सकेन, स्थायी कमिटी २२ गतेसम्म स्थगित

डिसी नेपाल
२० असार २०७७ १०:२२

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ। प्रधानमन्त्री निवास वबालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

उनका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन्।

पार्टीभित्रको विवाद बढ्दै गएपछि शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि शनिबार फेरि बैठक बस्ने सहमति भएको थियो। तर शनिबार दुई अध्यक्षबीच छलफल हुन सकेको छैन। दुवै पक्ष आफू निकट नेताहरुसँग छलफल गर्न व्यस्त छन्।

‘अहिलेसम्म दुई अध्यक्षबीच छलफल भएको छैन,’ अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले डिसी नेपालसँग भने, ‘उहाँबीच छलफल हुने नहुने टुंगो भएको छैन।’

प्रधानमन्त्री ओली मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आफूलाई भारतले पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीभित्रको विवाद झन चुलिएको छ।

प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवैबाट हट्नु पर्ने बताएपनि प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका छन्। बिहीबार प्रधानमन्त्रीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेकपा फुटको संघारमा पुगेको नेताहरुले नै बताउन थालेका छन्। यद्यपी दोस्रो तहका नेताहरुले भने जसरी पनि पार्टी फुटबाट जोगाउन भन्दै पहल थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *