भुटानसँग पनि भारतको सम्बन्ध बिग्रियो !

डिसी नेपाल
२१ असार २०७७ ९:५१

गुवाहाटी । लद्दाखको गलवान घाटीमा भारत र चीनका सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सेनाले ज्यान गुमाए । यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गरेका कूटनीतिक कामकाजको हिजोआज बढी नै चर्चा भइरहेको छ ।

विगत केही दिनयता छिमेकी मुलुकहरूसँग भारतको सम्बन्ध बिग्रिँदै गएको छ । कुरा चाहे बंगलादेशसँग होस् वा नेपालसँग, यी छिमेकी राष्ट्रबाट आएका विभिन्न प्रतिक्रियाले भारतका लागि कूटनीतिक बाटो अलि असहज भएको देखाउँछ । यसरी भारतसँग सम्बन्ध बिग्रिरहेको मुलुकको सूचीमा भुटानको नाम पनि थपिएको छ ।

हालै भुटानको सीमासँग जोडिएको आसामको बाक्सा जिल्लामा सैयौं किसानले नाराबाजी गर्दै भुटानविरुद्ध प्रदर्शन गरे । सीमापारिको काला नदीबाट सिँचाइका लागि आउने पानी भुटानले बन्द गरिदिएको ती किसानको आरोप थियो । भारतीय मिडियाले यो विषयलाई समाचार बनाएपछि भुटानको विदेश मन्त्रालय पनि बोल्न बाध्य भएको थियो ।

भुटानको दक्षिणपूर्वी भागस्थित समड्रोप जोंगखार सहर भारतीय राज्य आसामको सीमासँग जोडिएको छ । भुटानको यो सीमाको नजिकै आसामतिर दरंगा, बोगाजुली, ब्रहमपाडा लगायतका कुल २६ वटा गाउँ छन् । त्यहाँका प्रायः सबै जनता कृषिमा निर्भर छन् ।

ती गाउँ वास्तवमै धेरै पिछडिएका छन् । त्यहाँका किसान वर्षौंदेखि भुटानबाट आउने सोही नदीको पानीले खेती गर्ने गर्छन् । तर पानी नआएपछि भुटानलाई पानी रोकेको आरोप लगाउँदै उनीहरू विरोधमा उत्रिएका हुन् ।

किसानले उक्त नदीबाट सन् १९५१ देखि पानी उपभोग गर्दै आइरहेका छन् । तर यति लामो समयमा उनीहरूलाई कहीँ कतै कुनै असुविधा भएन । अहिले पानी नपाउँदाको असुविधालाई लिएर कालीपुर बोगाजुली काला नदी आञ्चलिक बाँध कमिटी गत जुन २२ मा धर्नासमेत बसेको थियो ।

विगत आठ वर्षदेखि उक्त कमिटीको अध्यक्ष पद सम्हाल्दै आएका महेश्वर नार्जरीले भने, ‘भुटानसँग हाम्रो सम्बन्ध निकै पुरानो छ । यतिका वर्षसम्म उनीहरूका तर्फबाट हामीलाई कुनै समस्या भएन । तर, हामी किसानले पानी पाएनौं भने हाम्रो जीवन चल्दैन । उब्जाउ नै हुँदैन । यहाँ भोकमरी फैलिन्छ । धर्ना र प्रदर्शन गर्नुअगाडि हामीले समस्या समाधानका लागि स्थानीय प्रशासनसँग पनि पहल गरेका थियौं । तर कसैले नसुनेपछि धर्ना बस्नु प¥यो । त्यसैले दुवै देशका सरकार मिलेर यो समस्या समाधान गर्नुपर्छ । हामीले भनेको यति मात्र हो । प्रदर्शनका क्रममा हामीले भुटानलाई कुनै नराम्रा शब्द पनि प्रयोग गरेका छैनौं ।’

विगत केही सातायता धर्नामा बसेका किसानले पानी पाउने आशा छ त ? यस विषयमा नार्जरी भन्छन्, ‘भुटानले कोभिड-१९ का कारण सबै सीमा बन्द गरेको छ । त्यसैले हामीलाई चाहिने पर्याप्त पानी पाइएको छैन । किनभने आवश्यक पानी हामीहरूले पहिले आफैं पनि कुलोबाट ल्याउने गरेका थियौं ।’

भारत-भुटान मित्रता संघका सल्लाहकार सदस्य त्सेरिङ नाम्गेलले पनि पानी रोक्ने कुरालाई लिएर भुटानमाथि लागेको आरोप गलत भएको बताएका छन् । उनी भन्छन्, ‘भुटान-भारत सम्बन्धको इतिहास निकै पुरानो छ । भारतीय मिडियाले समाचार बढाइचढाइ गरी लेखेकाले यो समस्या उत्पन्न भएको हो’, उनी भन्छन्, ‘जब कि हामीले मजदुरलाई पैसा दिई नहर खनाएर पानी पठाएका छौं । केही समस्या भए पनि यो छिटै समाधान हुन्छ ।’ आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *