खनाल र नेपाललाई लिएर शितल निवास पुगे प्रचण्ड

डिसी नेपाल
२१ असार २०७७ ११:५२

काठमाडौैं। पार्टीभित्रको विवाद बढ्दै गएपछि र राष्ट्रपतिलाई महाअभियोग लगाउने सूचना आफूले पाएको प्रधानमन्त्रीले बताएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई बोलाएर राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको र त्यो आफूलाई स्वीकार्य नभएको बताएका थिए। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि र प्रधानमन्त्री ओलीका कदममा साथ दिएको भन्दै राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउने सूचना आफूसम्म आइपुगेको प्रधानमन्त्रीले बताएका थिए।

सो विषयमा छलफल गर्न अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल शितल निवास पुगेका हुन्। ‘राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुरा अनर्गल प्रचारबाजी मात्र भएको र त्यसमा कुनै सत्यता नभएको भन्न उहाँहरु राष्ट्रपतिलाई भेट्न शितल निवास जानु भएको हो,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिजस्तो संस्थालाई कसैले पनि विवादमा पार्नु हुँदैन भन्नेमा सबै सचेत हुनुपर्छ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर भएर नेकपा गठन भएपछि अहिले उत्पन्न संटक सबैभन्दा जटिल भन्दै प्रधानमन्त्री ओलीले पार्टी गम्भीर मोडमा पुगेको समेत बताएका थिए। बैठकमा प्रधामन्त्री ओलीले विदेशीको इशारामा आफूलाई हटाउने कोशिश भइरहेको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएका थिए।

सरकारका कदमलाई राष्ट्रपतिले सहयोग गरेपछि राष्ट्रपति विरुद्ध नै महाअभियोग लगाउने षड्यन्त्र भइरहेको सूचना आफूलाई प्राप्त भएको प्रधानमन्त्रीले जनाएका थिए। राष्ट्रपति भण्डारी र प्रधानन्त्री ओलीबीच राम्रो राजनीतिक सम्मबन्ध छ।

पार्टीका हरेक मोर्चामा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली पक्षधर अल्पमतमा छ। संसदीय दलमा भने ओली पक्षधर तुलनात्मक रुपमा बलियो देखिएको छ। प्रधानमन्त्री ओलीले आफूले राष्ट्रियताका पक्षमा अडान लिँदा विदेशी शक्तिले आफूलाई हटाउन खोजेको निष्कर्ष निकाल्दै गर्दा अर्को समूह भने त्यसलाई मान्न तयार छैन। तर सजिलै राजीनामा नदिने बरु सबै विकल्पमा जाने सकिने गरी प्रधानमन्त्रीले तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *