प्रचण्डको जोडवलमा बालुवाटारमा सहयोगीसहितको निर्णायक वार्ता

डिसी नेपाल
२१ असार २०७७ १४:०८

काठमाडौं। शनिबार साँझ प्रधानमन्त्रीको सचिवालयले सबै मन्त्री र राज्यमन्त्रीलाई सन्देश पठाउँदै सात बजेभित्र प्रधानमन्त्री निवास उपस्थित हुन आग्रह गर्यो।
केही दिन यता नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न जानु पूर्व मन्त्रीहरुलाई बालुवाटारमा नियमन्त्रणा लिइँदा प्रधानमन्त्रीले ठूलै कदम चाल्न लागेको धेरैले अनुमान गरेका थिए।

राष्ट्रपति निवासबाट फर्किएपछि प्रधानमन्त्री ओली आफ्ना मन्त्रीहरुलाई करिव आधा घण्टा ब्रिफिङ गरे। ब्रिफ्रिङको अधिकांश समय प्रधानमन्त्री ओलीले ‘हुन नहुने संस्था’ (राष्ट्रपति) लाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने षड्यन्त्र भइरहेको भन्दै सचेत रहनुपर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने खेल त नेकपाभित्र बाटै हुँदै आएको छ। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिसकेका छन्। त्यसमा पनि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले खुलेरै प्रधानमन्त्रीको राजीनामा मागेका छन्।

तर राष्ट्रपतिलाई कसले महाभियोग लगाउने तयारी गर्यो? प्रधानमन्त्रीको भनाइ अनुसार त्यस्तो सूचना उनीसम्म पुगेको छ। एकाएक प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र भएको सार्वजनिक गरेपछि आइतबार विहान नेकपा अध्यक्ष दाहाल दुई जना खनाल र नेपाललाई लिएर शितल निवास पुगेका थिए।

उक्त छलफलमा नेताहरुले राष्ट्रपतिलाई महाभियोग लगाउने भन्ने कुरा अनर्गल प्रचार भएकाले त्यसमा कुनै सत्यता नभएको बताएका थिए। राष्ट्रपति भण्डारीसँग अन्य के के विषयमा छलफल भयो भन्ने कुरा विस्तारै खुल्दै जाला, तर उक्त भेटमा नेताहरुले प्रधानमन्त्रीले चाल्ने सबै कदममा साथ नदिन आग्रह गरेको स्रोतले जनाएको छ।

आइतबार साढे ११ बजे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच निर्णायक छलफल हुने तय भएको थियो। तर निर्धारित समयमा दाहाल शितल निवासमा थिए। दाहाल शितल निवासबाट बाहिरिँदा १२ बजेको थियो। यता प्रधानमन्त्री केपी ओली भने दाहालसँगको वार्ताको औचित्य समाप्त भएको भन्दै वार्तामा नबस्ने मनस्थितिमा पुगिसकेका थिए। आफ्नो धेरै अपमान भइसकेको र अब अपमान सहनकै लागि वार्ताको औचित्य नरहेको निष्कर्षमा पुगेका प्रधानमन्त्रीलाई महासचिव विष्णु पौडेल र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वार्तामा बस्नु सुझाएका थिए।

पौडेल र पोखरलेको आग्रहमा प्रधानमन्त्री ओली दाहालसँग वार्तामा बस्न तयार भएका हुन्। बालुवाटारमा जारी वार्तामा प्रधानमन्त्रीसँगै महासचिव विष्णु पौडेल र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् भने दाहालसँगै स्थायी कमिटी सदस्य जनार्दन शर्मा र वर्षमान पुन पनि सहभागी छन्। नेताहरुले यो वार्तालाई निर्णायकको संज्ञा दिएका छन्।

दाहाल–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन दबाव दिइरहेका छन् भने ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन्। सरकारले संसदको बजेट अधिवेशन नै अन्त्य गरेपछि विवाद झन बढेको छ। पार्टीको विवाद समाधान गर्न भन्दै जारी स्थायी कमिटीको बैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *