ओली–प्रचण्ड छलफल: माधव नेपाल र झलनाथ खनाललाई बाइपास गर्दै कार्यदल गठन

डिसी नेपाल
२१ असार २०७७ १४:५७

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ। छलफलमा पार्टीलाई एकतावद्ध बनाउनका लागि सहमति खोज्ने सहमति भएको छ। दुई अध्यक्षबीच सोमबार विहान स्थायी कमिटी बैठक बस्नु अघि पुन छलफल गर्ने सहमति पनि भएको छ।

दुई अध्यक्षबीचको छलफलमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए भने अर्को पक्षबाट अध्यक्ष दाहाल, स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। छलफलमा एक पक्षले अर्को पक्षलाई अरोप प्रत्यारोप गर्ने काम बन्द गर्ने र अश्विास हुने कुनै पनि क्रियाकलाप नगर्ने सहमति भएको छ।

छलफलपछि विवाद समाधानको बाटो खोज्न प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा तथा ओली पक्षका शंकर पोखरेल र विष्णु पौडेल सहभागी ४ सदस्यीय कार्यदल गठन गरिएको छ । असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो। तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

दाहाल–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन दबाव दिइरहेका छन् भने ओलीले कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन्। सरकारले संसदको बजेट अधिवेशन नै अन्त्य गरेपछि विवाद झन बढेको छ।

पार्टीको विवाद समाधान गर्न भन्दै जारी स्थायी कमिटीको बैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *