काँग्रेस बैठकमा प्रधानमन्त्रीसँगको भेटबारे ब्रिफिङ

डिसी नेपाल
२१ असार २०७७ १९:४०

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा प्रधानमन्त्री केपी ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भएको भेटबारे सभापति शेरबहादुर देउवाले बैठकमा जानकारी गराएका छन्।

बैठकको शुरुमै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटबारे सभापतिले जानकारी दिनुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए। उनकाअनुसार त्यसपति देउवाले आफू र प्रधानमन्त्रीबीच भेट भएको तर, बाहिर चर्चा गरिए जस्तो सत्ता साझेदारीका विषयमा कुरा नभएको बैठकमा जानकारी गराएका थिए। देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘संवैधानिक परिषद र नागरिकता विधेयकलगायताक विषयमा कुरा भएको हो। अरु सत्ता साझेदारीका विषयमा कुरा भएन।’

प्रधानमन्त्री ओलीले देउवासँग भेटेर सहयोग मागेको चर्चा भइरहेका बेला काँग्रेस सभापतिले भने त्यस्तो छलफल नभएको जानकारी दिएका हुन्।

काँग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ। आइतबार सबै केन्द्रीय सदस्यले बोल्न नपाएकाले सोमबार पनि कार्यतालिकाबारे छलफल हुने जनाइएको छ। काँग्रेसको महाधिवेशन आगामी फागुन पहिलो हप्ता काठमाडौंमा गर्ने यसअघि नै निणर्य भइसकेको छ। तर, कोरोना महामारीका कारण स्थायी तह, जिल्ला र प्रदेश अधिवेशनको काम र क्रियाशील सदस्यता वितरणबारे काम हुन सकेको छैन।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा छलफलको क्रम जारी रहेको छ । भोलि २०७७ असार २२ गते दिनको २ बजे केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्नेछ ।

बैठकमा धारणा व्यक्त गर्नु हुने पदाधिकारी एवं सदस्यहरु
आजको बैठकमा नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, अर्जुनप्रसाद जोशी, दिपक गिरी, नविन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, श्यामकुमार घिमिरे र बीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *