नेकपा सत्ता संघर्षमा चीनको चासो

डिसी नेपाल
२१ असार २०७७ २३:२७
16
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद बढिरहेका बेला त्यसबारे छिमेकी मुलुक चीनले पनि चासो देखाएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतबार साँझ अबेर भेटेर चिनियाँ चासो व्यक्त गरेकी छन्। नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले राजदूत याङ्छी र नेता नेपालबीच भेट भएको पुष्टि गरे।

नेता नेपाल र राजदूत याङ्छीबीच करिब एक घण्टा छलफल भएको स्रोतले जनाएको छ। राजदूत याङ्छी सात बजेपछि नेता नेपाल निवास कोटेश्वर पुगेको र ८ बजेपछि फर्केको स्रोतले जनायो।

नेकपामा देखिएको विवाद पूर्व माओवादी र पूर्व एमालेकोभन्दा पनि पूर्व एमालेहरुकै बिचमा बढि केन्द्रित रहेको र सो समूहको नेतृत्व नेता नेपालले गरेको चिनियाँ बुझाइ देखिएको राजदूत याङ्छीको भेटले प्रस्ट पारेको स्रोतले बतायो। भेटमा राजदूत याङ्छीले नेपालको ठूलो राजनीतिक दलमा विभाजन नहोस भन्ने चीनको शुभेच्छा रहेको सुनाएकी थिइन्।

सत्तारुढ दल नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारत र उसका नेपाली सहयोगीहरु सक्रिय भएको आरोप लगाएपछि उनको राजीनामा मागेको थियो। प्रधानमन्त्री नेकपामा विवाद चर्किएको बेला चिनियाँ राजदूतको नेता नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ।

यसअघि वैशाखमा पनि नेकपामा विवाद हुँदा चीनले चासो व्यक्त गर्दै राजदूत याङ्छीले नेकपाका सबै उच्च नेताहरुसँग भेट गरेकी थिइन्। त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फोन वार्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *