प्रचण्डको साथ छोड्दै पूर्व माओवादी नेता

डिसी नेपाल
२३ असार २०७७ १३:१५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको जन्मजयन्तीका दिन भारतले आफूलाई पदबाट हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएपछि सुरु भएको नेकपाभित्रको विवाद पार्टी विभाजनको तहसम्म पुगेपछि केही मथ्थर भएको छ।

सहमतिका लागि भन्दै जारी स्थायी कमिटी बैठक स्थगित गरिएको छ र प्रधानमन्त्री एवं अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दैनिकजसो सम्वाद भइरहेको छ। दुई अध्यक्षबीच मंगलबार पनि संवाद हुने बताइएको छ।

पार्टी विभाजनउन्मुख भएपछि दोस्रो तहका नेता यतिबेला नेतृत्वलाई खबरदारी गर्न थालेका छन्। केही नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेर जसरी पनि पार्टी एकतालाई जोगाउनु पर्ने भन्दै दबाव दिन थालेका छन्।

बहुमत र अल्पमतको खेलमा सरकार बनाउने र गिराउने काम बन्द गर्नु पर्ने र पार्टी विभाजन हुनबाट रोक्नुपर्ने भन्दै दोस्रो तहका नेताहरु सक्रिय भएर नेतृत्वलाई खबरदारी गरिरहेका छन्।

‘बहुमत र अल्पमतको खेलमा कुनै व्यक्तिलाई पदबाट हटाउने र नयाँ व्यक्तिलाई पदमा पुर्याउने अहिलेको अवस्थामा होइन,’ नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले डिसी नेपालसँग भने, ‘विभाजनको संघारमा पुगेको पार्टी हाम्रो प्रयास र दबावका कारण अहिले पुरानै अवस्थामा फर्किन थालेको छ।’

पार्टीका सबै निकायमा प्रधानमन्त्री ओली अल्पमतमा परेपछि उनीमाथि राजीनामाको दबाव बढ्दै गयो। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि पार्टी विभाजनको संघारमा पुगेको अनुमान गरिएको थियो।

‘स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेको गलत हो,’ रायमाझीले भने, ‘महाधिवेशन नभएसम्म सहमति गरेर जाने यसअघि नै सहमित भइसकेकाले अल्पमत र बहुमतको आधारमा कसैलाई हटाउने र बनाउने कुरा गलत हो।’

त्यसो त प्रधानमन्त्री ओलीलाई बहुमतको आधारमा हटाउने तयारी भएपछि पूर्व माओवादीका कतिपय स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीलाई साथ दिन थालेका छन्। ती मध्येका एक हुन रायमाझी पनि। ‘म एकताको पक्षमा छु। अब पूर्व माओवादी र पूर्व एमाले भन्ने नै रहेनन्,’ उनले भने, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी छ। बहुमत र अल्पमतको आधारमा कसैले कसैलाई निधेष गर्नु हुन्न।’

पूर्व माओवादी र कुनै बेला प्रचण्डका निकट मानिने उद्योग मन्त्री लेखराज भट्टलेसमेत पछिल्लो समय प्रधानमन्त्री ओलीलाई साथ दिएका छन्। उनी पनि स्थायी कमिटी सदस्य हुन्। ‘अहिले पार्टी विभाजन कसैको पनि हितमा नभएका कारण पार्टीलाई एकतावद्ध पार्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ भट्टले डिसी नेपालसँग भने, ‘दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई बचाउन अहिले विवाद होइन, एकता आवश्यक छ।’

पछिल्लो समय पूर्व माओवादी खेमाभित्र पार्टी एकता ओली र प्रचण्डको पहलमा भएका कारण दुई अध्यक्षबीच नै सहमति हुनु पर्ने र त्यसमा तेस्रो पक्ष (माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम) प्रवेश गर्न नहुने मत बलियो हुँदै गएको छ। एकता हुँदा नै महाधिवशेनसम्म सहमतिसाथ चल्ने सहमति भइसकेकाले अहिले आएर बहुमतको आधारमा कसैलाई पनि पदबाट हटाउन नहुने मत पूर्व माओवादीमा बलियो हुँदै गएको छ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापा भन्छन्, ‘अहिले केपी ओली र प्रचण्डबीच सहमति हुनुपर्छ। उहाँहरु दुई जनाको पहलमा पार्टी एकता भएको हो। एकता हुँदा महाधिवेशन सम्म सहमतिबाट चल्ने कुरा भएको थियो। अहिले महाधिवेशन नभएका कारण सहमतिबाटै चल्नुको विकल्प छैन।’

उनले दुई अध्यक्षबीच हुने सहमतिलाई अन्य सबैले स्वीकार गर्नुपर्ने बेलामा अहिलेको नेकपाभित्रको विवादमा तेस्रो पक्ष हावी भएको बताए। उनले अहिले बहुमत र अल्पमतमा जाने बेला नभएको उल्लेख गर्दै पार्टी एकता हुँदा भएको सहमति अनुसार नै चल्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *