चार जिल्ला कोरोना ‘फ्री’, संक्रमितको दर ओरालो

डिसी नेपाल
२३ असार २०७७ ९:०४

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ७ हजार ४ सय ९९ रहेको छ। यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत हो। नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए। आइसोलेशनमा रहनेको सङ्ख्या ८ हजार ६ सय ३४ रहेको छ । २५ हजार ७ सय २७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको पनि उनले जानकारी दिए। कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

यस्तै आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल ९ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते ९ हजार ४२, २१ गते ९ हजार २०३, २२ गते ९ हजार ११८ र २३ गते ८ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

पिसिआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्।

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरु हुनुहुन्न,” उनले भने।

कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कने क्रम दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेशन केन्द्र रित्तिँदै गएको प्रवक्ता गौतमले जानकारी दिए। आइतबार पुष्टि भएको ९ जनासहित कूल सङ्क्रमितको सङ्ख्या १ हजार ४९८ पुगेको छ । १ हजार ३१ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जनाले कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *