चुनौतीको चाङमा उभिएका नवनियुक्त आइजीपीले कार्यभार सम्हाले

काठमाडौं। मंगलबार सरकारले शैलेश थापा क्षेत्रीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गरेपछि बिहीबार (आज)बाट कार्यभार सम्हालेका छन्।

गृहमन्त्रालयमा विहिबार विहान दज्र्यानी चिन्ह लगाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन्। उनले कार्यभार सम्हालेसँगै २१ महिनाको कार्यकालबारे चुनौती समस्या र संभावनाबारे चर्चा हुन थालेको छ।

लामो समय प्रहरी प्रधानकार्यालयको आइजीपी सचिवालयमा बसेर काम गरेका उनी अघिल्ला आइजीपीहरुले भोगेका समस्या र चुनौतीबारे जानकार रहेका छन्। अघिल्ला दुई आइजीपीले पत्ता लगाउन नसकेका फरार अपराधी र कानुनी दायरामा नआएका अपराधिक व्यक्तिहरुको नियन्त्रण नै उनका लागि पहिलो चुनौती रहेको छ। जसमध्ये उनको पहिलो चुनौतीका रुपमा रुपमा निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु नै हाे।

निर्वतमान आईजीपी ठाकुर ज्ञवालीले आईजीपी हुँदा निर्मला हत्या प्रकरणको टुङ्गो लगाउने वाचा गरेपनि उनले फाइलसम्म हेर्न भ्याएनन्। कञ्चनपुरमा गएर अनुसन्धान गरेका ज्ञवालीले हत्या प्रकरण सुल्झाउने अपेक्षा थियो तर उनले सुल्झाउने त परै जाओस् फाइलसम्म नहेरेपछि उनको पाँच महिनाको कार्यकाल त्यतिकै सकिएको थियो।

२०७५ साल असार ११ गते १३ वर्षीया निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो। त्यसबेला उनी प्रहरी प्रधानकार्यालयको प्रवक्ताको रुपमा कार्यरत थिए। निर्मला हत्या प्रकरणमा प्रहरी कसरी रुमलियो भन्ने बारेमा वर्तमान आइजीपी थापा जानकार रहेका छन्।

पूर्वआईजीपी सर्वेन्द्र खनाललेसमेत निर्मला हत्याका हत्यारा पत्ता लगाउने वचन दिएका थिए तर उनी पनि यस प्रकरणमा असफल भए।
अर्को कुमार पौडेललेको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन नेतृत्व र इन्काउण्टरमा संलग्न भनिएका प्रहरीलाई कारवाही गर्न निर्देशन दिएको भएपनि अहिलेसम्म कारवाहीको प्रकृया अघि बढेको छैन।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर फेक भएको भन्दै प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ। मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

पौडेल २०७६ असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए।

यस्तै प्रहरीमा राजनीतिक शक्तिको आडमा सरुवा बढुवा हुने गरेको छ। विषेश गरेर राजनीतिक पहुँच भएका प्रहरीहरु अगाडि जाने र राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति बढेको प्रहरी वृत्तबाटै आवाज उठ्ने गरेको भएपनि यो समस्या निरुपण हुन सकेको छैन। उनका लागि रिक्त रहेको दुई एआइजी पदको बढुवा नै परीक्षणकाल हुनेछ।

उनकै व्याची प्रधुम्न कार्की र निरजकुमार शाहीलाई एआइजीमा बढुवा गर्न चुनौती रहेको छ। एआइजी बढुवाका लागि अर्का डिआइजी विश्वराज पोखरेलले उनलाई चुनौती दिइरहेका छन्।

साथै प्रतिस्पर्धी एआइजीपीलाई उनले कस्तो जिम्मेवारी र भूमिका दिएर साथ लिन्छन् वा प्रतिशोध साँध्छन भन्ने पनि उनका लागि एउटा चुनौतीको विषय बनेको छ। विगतमा आइजीपी हुनेहरुले प्रतिस्पर्धीहरुलाई साथ लिन नसक्दा निकै विवादित भएका थिए।

शक्तिको आडमा हुने बढुवा र सरुवालाई रोकेर संगठन प्रमुखको हैसियतले नियमसम्मत बढुवा र सरुवा गर्ने परिपाटी बसाल्ने जिम्मा पनि अबका थापाको काँधमा आएको छ। संगठनमा काम गर्ने प्रहरी अधिकृतहरुलाई व्यक्तिगत रीस र कुण्ठाको आधारमा कारवाही गर्ने परिपाटीको अत्य गर्न संगठन प्रमुखले भूमिका खेल्नुपर्ने देखिन्छ।

नयाँ आईजीपीको काँधमा प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने जिम्मेवारी पनि छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्नुपर्ने काम पनि चुनौतीपूर्ण छ। त्यसैगरी खरिद प्रकृयामा देखिएको अनियमितताको जालोलाई तोड्ने अर्को प्रमुख चुनौती रहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो