कोरियामा २३ वर्षीय नेपाली युवाले गरे झुण्डिएर आत्महत्या

सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ३ वर्षअघि कोरिया आएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरका २३ वर्षीय विक्रम पाण्डेले आत्महत्या गरेका हुन् ।

पाण्डेले बिहीवार दिउँसो करिब १२ बजे आफ्नै कम्पनीको छतमा झुण्डिएर आत्महत्या गरेको अर्घाखाँची सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले डिसी नेपाललाई जानकारी दिए । उनका अनुसार पाण्डे बिहीबार  डिउटीसमेत गएका थिएनन् । ‘ उनी आज  डिउटी गर्न पनि गएका रहेनछन् । कुनै सम्पर्कबिना गाएब भएपछि कम्पनीमा काम गर्ने साथीहरुले उनको खोजी गरेछन्,’ अध्यक्ष पन्थीले भने, ‘लन्चको समयमा खोजी गर्दा उनी कम्पनीको छतमा मृत्त अवस्थामा फेला परेका हुन् । ’

घटनाको प्रारम्भिरक अनुसन्धानबाट उनले कम्पनीको छतमा झुण्डिएर आत्महत्या गरेकाे खुलेको छ । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट शुक्रबार मात्रै आउने पन्थीले जानकारी दिए ।

विक्रमले आत्महत्या गर्नुको कारण खुलेकोछैन । जानकारी अनुसार ३ वर्षे भिसाको म्यादसकिएपछि उनले भोलिमात्रै भिसा नविकरण गराउने तयारी गरेका थिए । मृतक पाण्डे अविवाहित हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो