भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
२६ असार २०७७ १३:३७

बाह्रबीसे । भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबीसेको पुरानो बजारमा बाढी पस्ने जोखिम बढेको छ । स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ । बाह्रबीसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । लामोसाँघु बजारको पश्चिम भेगका बासिन्दाले घर छाडेका छन् । सुनकोशीले तल्लो भागबाट कटान गर्न थालेका जनाइएको छ ।

लार्चा खोलाको पश्चिमतर्फ बासोबास गर्दै आएका स्थानीय घरबाट निस्केर डाँडाडाँडामा पुगेका छन् । उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन् । जताततै पहिरो नरोकिएकाले उनीहरु भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले जानकारी दिए । लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खा बन्दगाहमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय प्रहरी र नेपाली सेनालाई खबर गरेको जानकारी दिए ।

अविरल वर्षाका कारण जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा बाढी आएको छ । नदीमा पानीको बहाव वढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ । पाँचपोखरीे, मेलम्ची, हेलम्बुलगायत गाउँपालिकाले स्थानीयलाई सुरक्षित बस्न र सजग हुन आग्रह गरेका छन् । बाह्रबीसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *