ओमनबाट स्वदेश फर्कन लागेका नेपालीलाई राजदूत पराजुलीले गरिन् जहाजभित्रै चढेर विदाई

डिसी नेपाल
२६ असार २०७७ १७:३५

काठमाडौँ । कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत शुक्रबार स्वदेश फर्किएका हुन् ।

मस्कटस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १ तीन महिनाको शिशु स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका थिए।

काठमाण्डौँका लागि जहाज उड्नुअघि यात्रुहरू तथा चालकदलका सदस्यहरूको कोरोना भाइरसको संक्रमण नभएको पिसिआर परीक्षणको रिपोर्ट रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल स्वयम मस्कटस्थित अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनले उड्न लागेको जहाजभित्रै चढेर विदाईको हात हल्लाउँदै सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना समेत दिएकी थिइन् ।

त्यस्तै स्वदेश फर्कन लागेका नेपालीकाे यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी कृष्णा कुमारी गौली, सहचारी अनिल रानालगायत कूटनीतिक तथा स्थानीय कर्मचारी, नेपाली सोसल क्लबका सदस्यहरू र मस्कट कोभिड–व्यवस्थापनका स्वयम्‌सेवी सदस्यहरू समेत विमानस्थल पुगेका थिए ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा लिएको थियो। जुन नेपाल सरकारले तोकेको भाडादर भन्दा निकै सस्तो हो । सरकारले ओमनबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *