आठ जिल्लामा बाढी–पहिरोको प्रकोपः २३ को मृत्यु, २६ घाइते र ३६ बेपत्ता

डिसी नेपाल
२६ असार २०७७ १९:२५

काठमाडौं। बिहीबार–शुक्रबार देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार देशका विभिन्न ८ जिल्ला प्रभावित भएका छन्। मन्त्रालयका अनुसार ६ वटा पहिरोका घटना भएका छन् भने २ वटा बाढीका घटना भएका छन्।

मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारीअनुसार सबैभन्दा धेरै कास्की र जाजरकोटमा ७–७ जनाको मृत्यु भएको छ। यस्तै म्याग्दी र लमजुङमा ३–३ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा २ जनाको मृत्यु भएको छ भने गुल्मीमा एकजनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ४ मा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता र ५ जना घाइते छन्। उता जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले डिसी नेपाललाई दिएको जानकारीअनुसार जाजरकोटमा ७ जनाको मृत्यु, ७ जना वेपत्ता र ५ जना घाइते छ।

यस्तै गृहमन्त्रालयका अनुसार कास्कीको पोखरा महानगरपालिका, सारंगकोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस्तै म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बाढी र पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्।

यस्तै लमजुङको बेसीशहर नगरपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिमकाृे आठविशकोट गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

उता तनहुँको शुक्लागण्डकी नगरपालिकामा बाढी आएको छ। यहाँ मानवीय क्षति भने भएको छैन। यस्तै दोलखाको जिरीमा पनि पहिरो खसेको छ। यस्तै गुल्मीको कालीगण्डकी ४ मा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *