जनताको विश्वास कसैले चुकाउनु हुँदैनः अध्यक्ष दाहाल

डिसी नेपाल
२७ असार २०७७ २०:१७

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताए ।

उनले भने, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।” अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए। उनले थपे, “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।” उनले भने, “प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।”

कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे। कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उनको भनाइ थियो । सो अवसरमा उनले कोरोनासँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताए। यद्यपि सचेत भने हुनुपर्ने उनको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि बढेको उनले बताए।

निकुञ्ज ऐन संशोधन प्रक्रियामा रहेको, आकासेपुलका लागि अध्ययन गर्न रु एक करोड विनियोजन भएको र चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उनले बताए । सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका विकास निर्माणका बारेमा जानकारी गराएका थिए । आजै दाहालले बाढीले बगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्व सिंह तामाङको घरमा पुगेर जानकारी लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *