कास्कीको अन्नपूर्णमा भूमि बैंक स्थापना
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो।
जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शीत भण्डार आदि प्राविधिक सहायताका साथै मल, बीउ, बिजन र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
उनका अनुसार बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ । गाउँपालिकाले कम्तीमा पाँच रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गर्ने उनले जानकारी दिए।
उनले गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाइने र यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने उल्लेख गरे । कोदो खेतीको प्रवद्र्धनका लागि गाउँपालिकाले विगत वर्षदेखि कोदो महोत्सव गर्दै आएको छ।
गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूल लगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाइ आकर्षण गर्ने नीति लिएको छ। गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिका रूपमा विकास गरिने योजना छ।
गाउँपालिका भित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले कौसी खेती, करेसाबारी, घरबगैँचामा तथा पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment