अख्तियार नियुक्तीमा ओली र देउवाबीच गोप्य सहमति !

डिसी नेपाल
२८ असार २०७७ १६:५८

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भागवण्डाका आधारमा नियुक्ती गर्ने सहमति भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट पूर्व गृहसचिव प्रेमकुमार राईलाई आयुक्तमा नियुक्त गर्ने तयारी गरेका छन्।

यसैगरी, प्रमुख प्रतिपक्ष दलका नेता  शेरबहादुर देउवाले आफ्नोतर्फबाट आयुक्तमा नियुक्त गर्न तीन जनाको नाम प्रधानमन्त्री ओलीलाई दिएको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार देउवाले पूर्व डिआईजी जयबहादुर चन्द, राष्ट्रिय अनुसन्धान आयोगका पूर्व प्रमुख दिलिप रेग्मी र अख्तियारका पूर्व सह-सचिव गणेश कार्कीको नाम प्रधानमन्त्रीलाई दिएका छन्।

तर, प्रधानमन्त्री ओलीले पूर्व डिआईजी जयबहादुर चन्दको नाम अस्वीकार गरेका छन्। आईजीपी नियुक्ती काण्डका ‘विवादित’ भन्दै प्रधानमन्त्री ओलीले चन्दको नाम अस्वीकार गरेको स्रोतले दाबी गरेको छ।

देउवाको कोटाबाट रेग्मी वा कार्कीमध्ये एक जना आयुक्त बन्ने बताइएको छ। केही दिन अगाडि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच संवैधानिक आयोग अख्तियारमा आयुक्त नियुक्त गर्ने विषयमा छलफल भएको थियो। हाल अख्तियारमा दुई जना आयुक्तको पद रिक्त छ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग पूर्व गृहसचिव राईलाई अख्तियार आयुक्त नबनाउन दबाव दिएका थिए। तर प्रधानमन्त्री ओलीले जसरी पनि राईलाई आयुक्त बनाउने अडान लिएपछि राईको नाममा प्रचण्डले सहमति जनाएका छन्। वर्तमान अख्तियार प्रमुख नविन घिमिरेले अवकाश पाएपछि उनको ठाउँमा प्रचण्डको कोटाबाट एक जना आयुक्त नियुक्त गर्ने सहमति भएको छ।

उता सभापति देउवाले आफूखुशी आयुक्तको नाम प्रधानमन्त्रीलाई  दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ। देउवाले प्रधानमन्त्रीलाई नाम नै बुझाएपछि आफ्नो पक्षको रणनीति बनाउन अहिले महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल पक्षधरको भेला जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *