सांसदहरुलाई विपद्मा जनताको साथमा रहन राष्ट्रियसभाका अध्यक्षको आग्रह

डिसी नेपाल
२८ असार २०७७ १९:३८

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी तथा पहिरामा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा विपद्को जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ लाग्न सरकारसँग अनुरोध गरेका छन्।

उनले आइतबार शोक वक्तव्य जारी गरी बाढीपहिराबाट ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै केन्द्र, प्रदेश तथा स्थानीय सरकार तथा सम्बद्ध अधिकारीलाई उद्धार, राहत र पुनःस्थापनामा लाग्न अनुरोध गरेका हुन्।

संघीय संसद् अधिवेशन अन्त्य भएको अवस्थामा सम्पूर्ण सदस्यलाई आआफ्नो क्षेत्रमा आवश्यक सहयोग, समन्वय गर्न अनुरोध गर्दै उनले अझ केही समय मनसुन सक्रिय रहने हुँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सचेत, सजग र सुरक्षित रहनसमेत आह्वानसमेत गरेका छन्।

लगातार तीन दिन देखिको अविरल वर्षाका कारण मुलुकभरमा १८ जिल्ला बढी प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रभावित जिल्लामध्ये म्याग्दीमा २८, जाजरकोटमा नौ, कास्कीमा सात, लमजुङमा तीन, रुकुम पश्चिममा दुई, सिन्धुपाल्चोकमा तीन, नवलपरासीमा दुई, कालिकोटमा एक, गुल्मीमा एक र सुनसरीमा एक गरी ५५ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, सिन्धुपाल्चोकमा २०, जाजरकोटमा छ र म्याग्दीमा तीन गरी ३० जना अझै बेपत्ता नै छन् भने विभिन्न जिल्लामा गरी करिब ५० जना घाइते भएका छन् । अहिलेसम्म बाढी तथा पहिराबाट विस्थापित घरपरिवारको सङ्ख्या झण्डै ८०० पुगेको छ ।

ठूला नदीमा पानीको प्रवाह बढेसँगै तराई क्षेत्रमा डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिराका घटना बढिरहेका छन् । जसका कारण मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ र सयौँ परिवार विस्थापित भएका छन् ।

कोभिड–१९ को जोखिम कायमै रहिरहेका अवस्थामा देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा विभिन्न क्षेत्रमा बाढी, पहिरा र डुबानका कारण अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *