आफ्नै छोरीका हत्याराको मृत्युदण्ड रोक्न खोजेकी आमाले मुद्दा हारिन्

डिसी नेपाल
३० असार २०७७ १३:५०

टेर्रे हाउटे (इण्डियाना) (एपी)। अमेरिका सरकारले स्थानीय समयअनुसार मंगलबार बिहान (नेपाली समय मंगलबार बेलुकी) १७ वर्षपछि संघीय कैदीलाई मृत्युदण्ड दिने भएको छ । विभाजित सर्वोच्च अदालतले बहुमतको आधारमा तल्लो अदालतको निर्णय उल्ट्याउँदै संघीय कैदीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न आदेश दिएको हो ।

यसँगै अब ड्यानियल लेविस लीलाई मृत्युदण्ड दिने बाटो खुलेको छ । यसअघि उनलाई सोमबार बिहान इस्टर्न डेलाइट टाइमअनुसार अपरान्ह ४ बजे (नेपाली समय मंगलबार बिहान पौने २ बजे) घातक सुई लगाएर मृत्युदण्ड दिने तय थियो । तर सोमबार बिहान जिल्ला न्यायाधीश तान्या चुटकनले दिएको आदेशपछि मृत्युदण्ड रोकिएको थियो । तर, सर्वोच्च अदालतको ९ न्यायाधीशको बेन्चले ५–४ को बहुमतले मृत्युदण्ड दिने बाटो खोलेको हो ।

ली १९९६ मा एकै परिवारका तीन जनाको हत्याका दोषी हुन् । विलियम मुलर, उनकी पत्नी न्यान्सी र उनीहरुकी ८ वर्षकी छोरी साराह पावेलको हत्याको आरोपमा लीलाई मृत्युदण्ड दिन लागिएको हो । लीले हत्या गरेकी न्यान्सीकी आमाले लीलाई मृत्युदण्ड भएको प्रत्यक्ष हेर्नको लागि जाँदा आफूहरु कोरोनाभाइरसको जोखिममा पर्ने भएकोले मृत्युदण्ड सार्न माग गरेकी थिइन् । उनको माग अनुसार संघीय अदालतले मृत्युदण्ड रोकिदिएको थियो ।

तर, संघीय सरकारले अपिल अदालतमा पुनरावेदन गर्यो र अपिल अदालतले मृत्युदण्ड दिनुपर्ने निर्णय गर्यो । अपिल अदालतको यो फैसलापछि पीडितका परिवार मृत्युदण्ड रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले मृत्युदण्ड दिने फैसला गरेपछि ती आमाले मुद्दा हारेकी छिन् । ती आमासहित पीडितका परिवारले मृत्युदण्डस्थलमा उपस्थित भएर ‘यो सजाय हाम्रो नाममा भएको छैन र हामी यो चाहँदैनौं’ भन्न चाहेका छन् । न्यान्सीकी आमाले गत वर्ष सीएनएनसँग कुरा गर्दै ‘कोही मेरी छोरीको नाममा मर्नु भनेको मेरी छोरीको लागि लज्जाको विषय हुन्छ’ भनेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *