सशस्त्र प्रहरीमा टिकटक काण्ड, १६ फौजीमाथि कारवाही

डिसी नेपाल
३१ असार २०७७ ११:५८

काठमाडौं। छिमेकी मुलुक भारतले चिनियाँ लगानीका बहुचर्चित टिकटकलगायतका सामाजिक सञ्जालहरुमा प्रतिबन्ध घोषणा गरेकै बेला नेपालको अर्धसैनिक बल सशस्त्र प्रहरी बल, नेपालले टिकटक बनाएको र पोष्ट गरेकै कारण १६ जना फौजीहरुमाथि कारवाही गरेको छ।

सशस्त्र प्रहरीको फौजी पोशाकमै टिकटक भिडियो बनाई पोष्ट गरेवापत असार महिनाभरमा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरु कारवाहीमा परेका छन्। उनीहरुमध्ये टिकटकको भिडियो हेरी नसियत र सचेत गराउने कारवाही गरिएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले असार २४ गते देशभरका आफ्ना सबै युनिटहरुलाई एक निर्देशन पत्र पठाउँदै फौजी पोशाकमा टिकटक भिडियो बनाई पोष्ट गरेर फौजको मर्यादा उल्लंघन भइरहेकोमा सचेत गराएको छ।

पत्रमा टिकटकमात्र नभई अन्य सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइवर, ह्वाट्सएप र इमोमा फौजी पोशाकसहितका भिडियोहरु पोष्ट गर्ने कार्य फौजी अनुशासनविपरीत भएको उल्लेख गरिएको छ।

त्यसैगरी पत्रमा यस्तो अनुशासनविपरीत कार्य लगाताररुपमा भइरहेकोले त्यस्ता उपर कारवाही गरी संबन्धित युनिटका कमाण्डरहरुमाथि पनि फौजी अनुशासन कायम गराउन नसकेको आरोप लगाइएको छ।

पत्रमा भनिएको छ,‘ सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ वमोजिम कडा कारवाही गरी यसविभागमा जानकारी दिनु हुन भन्ने निर्देशन हुँदा हुँदै पनि कहीँ कतैबाट कारवाहीको जानकारी प्राप्त हुन नआएको हुँदा यस पत्रमा उल्लेख भएका व्यक्तिमाथि कारवाही गरी जानकारी पठाउनु हुन अनुरोध छ।’

पत्रमा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुको नाम उल्लेख गरिएको छ र उनीहरुले टिकटक भिडियो बनाई पोष्ट गरेको आरोप लगाइएको छ। पत्रमा यी १६ वाहेक अरुले पनि टिकटक भिडिओ बनाई पोष्ट गरेको पाइए उनीहरुलाई पनि कारवाही गर्न आदेश दिइएको छ।

भनिएको छ, ‘उल्लेखित व्यक्तिहरुवाहेक अन्य जो कोही सशस्त्र प्रहरी कर्मचारीहरु त्यस्तो गतिविधिमा संलग्न रहेको पाइएमा निजहरुलाई कारवाही गरी सोको जानकारी गराउनु हुन अनुरोध ।’

को को परे टिकटक काण्डमा?
डिसी नेपाललाई प्राप्त विवरणअनुसार, टिकटकको भिडियो बनाएर पोष्ट गरेवापत् कारवाहीमा पर्ने १६ जनामध्ये ९ जना महिला सशस्त्र प्रहरी जवानहरु छन् भने ७ जना पुरुष जवानहरु छन्।

महिलाहरुमा प्रशिक्षण प्रतिष्ठानका कार्यरत सुकुमाया पुन, ५६ गुल्ममा कार्यरत पशुपतिकुमारी साउद, २७ गणमा कार्यरत निता महतो गुरौ, ३९ गुल्ममा कार्यरत अनिता तिमिल्सिना, ३९ गुल्मकै सन्चालिकाकुमारी खत्री, २२ गुल्ममा कार्यरत सोहाना तामाङ, ५३ गुल्ममा कार्यरत कृतिना श्रेष्ठ, ३३ गणमा कार्यरत सरिता धामी र सांस्कृतिक तथा बाद्यवादन गुल्ममा कार्यरत सृजना पोख्रेल परेका छन्।

पुरुष जवानहरुमा १ नम्बर गणमा कार्यरत विशाल मगर, सुरक्षा वेसमा कार्यरत विनोद केसी, सुरक्षा बेस धनुषामा कार्यरत जितेन्द्र गिरी, २५ नं गणमा कार्यरत लक्ष्मण चुनारा, बीओपी पर्सामा कार्यरत शिव राना, ५६ गुल्ममा कार्यरत सन्जुप्रसाद उपाध्याय र ३९ नं गणमा कार्यरत मिलन केसी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *