प्रधानमन्त्रीकाे अभिव्यक्ति अगाडि नै नेपालकाे ‘अयोध्या’ मा ठोरी गाउँपालिकाकाे बजेट

खेमराज थापा
३१ असार २०७७ १४:३८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म भूमि नेपाल नै रहेको बताएपछि अहिले पर्साको ठोरी गाउँपालिकाको चर्चा बढेको छ। प्रधानमन्त्री ओलीले पर्साको वीरगञ्जभन्दा पश्चिमको भूमि (ठोरी) नै रामको जन्मभूमि भएको बताएका थिए।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि ठोरीबासीको प्रतिक्रिया के छ भनेर हामीले ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठसँग कुरा गरेका छौं। अध्यक्ष श्रेष्ठले डिसी नेपालसँग फोनमा भने, ‘यो ऐतिहासिक भूमि हो। यहाँ सीता गुफा, हुनमान नगर, सीतापोखरी जस्ता स्थानहरु छन्। त्यसैले पनि हामीले यो क्षेत्रको धार्मिक महत्व बढाउनका लागि मन्दिर बनाउन बजेट विनियोजन गरेका छौं।’

गाउँपालिकाले मन्दिर बनाउने र पूजाका लागि बजेट विनियोजन गरेको छ। तर, सीता गुफा रहेको स्थान ठोरी गाउँपालिका वडा नम्बर २ मा नेपाल–भारत सीमा नजिकै पर्छ। त्यसैले पनि मन्दिर बनाउन गाउँपालिकाले बजेट विनियोजन गरे पनि अप्ठ्यारो मानिरहेको छ।

अध्यक्ष श्रेष्ठले भने, ‘गत वर्ष त्यहाँ(सीता गुफा)मा एक कार्यक्रम आयोजना हुँदा मैले हौसियर मन्दिर बनाउने विकास गर्ने कुरा गरेको थिएँ। तर, दशगजा नजिकै भएकाले अलि अप्ठ्यारो भएको थियो। तर, प्रधानमन्त्री ज्यूले नै यो विषयमा बोलेपछि हामीलाई सजिलो भएको छ।’

पुरातत्व विभागले पनि यो विषयमा अनुसन्धान गर्ने तयारी गरेको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले अयोध्याबारे अध्ययन अनुसन्धान गर्ने विषयमा छलफल भएको बताए। उनले डिसी नेपालसँग भने, ‘अहिले उत्खनन नै गर्ने भन्ने त निर्णय भएको छैन। तर, अन्य अध्ययन अनुसन्धान गर्ने विषयमा विभागमा छलफल भएको छ।’

उता ठोरीका अध्यक्ष श्रेष्ठले पुरातत्व विभागले ठोरीमा अध्ययन गर्न लागेको भन्ने हल्ला आफूले पनि सुनेको जानकारी दिए। उनले भने, ‘विभागले अनुसन्धान गर्ने भन्ने सुनेको छु। आधिकारिक जानकारी आएको छैन। अब जानकारी आउला सायद।’

उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि ठो स्थानमा ऐतिहासिकताबारे अनुसन्धान गर्न सजिलो भएको र बाटो खुला भएको बताए। उनले भने, ‘यो धार्मिक महत्वको विषय हो। यो विषयमा अध्ययन र अनुसन्धान त हुनैपर्छ। यहाँको धार्कि सांस्कृतिक धरोहरको पहिचान हुनुआवश्यक छ।’

वाल्मिकि रामायणअनुसार अध्योध्याका राजा दशरथका छोरो पुरुषोत्तम रामको बिहे मिथिलाका राजा नजककी छोरी सीतासँग भएको थियो। मिथिलाको राजधानी हालको जनकपुर र सीताको जन्म भूमि जनकपुर भएको विषयमा कुनै विवाद छैन। तर, रामको जन्म भूमि अयोध्याबारे भने विवाद छ।

भारतले उत्तरप्रदेशको अयोध्यालाई राम जन्मभूमि रहेको बताउँदै आएको छ भने, हालै प्रधानमन्त्री ओलीले अयोध्या नेपालको ठोरी भएको बताएका थिए। प्रधानमन्त्री ओलीको भनाईपछि यो विषय फेरि बहसमा आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *