व्यक्तिले अतिक्रमण गरेको ७ लाख ९५ हजार बढी वर्गमिटर जग्गा फिर्ता

तर्कबहादुर थापा
५ साउन २०७७ १०:३५

काठमाडौं। सरकारले देशका विभिन्न स्थानमा व्यक्तिले अतिक्रमित गरेकाे करिव ७ लाख ९५ हजार ५ सय ६६.७३ वर्गमिटर जग्गा फिर्ता ल्याएकाे छ भने २०७६ असारदेखि हालसम्म ९४ हजार ३ सय २३.०७ वर्गमिटर जग्गा रोक्का गरेकाे छ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरी ९ सय ४६ रोपनी ७ आना २ पैसा पहाडी क्षेत्रको जग्गा र १ सय २५ विगाह, १६ कठ्ठा, १६.५८ धुर तराई क्षेत्रको जग्गा व्यक्तिको नामबाट सरकारको नाममा ल्याइएको छ।

यस्तै, मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा ६ रोपनी १ आना ४ पैसा ३.९३ दाम जग्गा र तराई क्षेत्रमा १३ विगाह ९ कठ्ठा ७.७५ धुर जग्गा सरकारले रोक्का गरेर राखेको छ।
भूमि व्यवस्था मन्त्रालयको २०७६ माघ १२ गतेको निर्णय अनुसार काठमाडौं जिल्लाको गोठाटार ३ मा रहेको कित्ता नं. २९१ को ५ हजार ७ सय ९१ वर्ग मिटर र कित्ता नं. ८० को ३२१.५७ वर्गमिटर जग्गा मन्त्रालयको चलानी नं. ४०३२ को पत्रबाट सरकारका नाममा आएको जनाएको छ।

मन्त्रालयले हालसम्म मकवानपुर, सर्लाही, कपिलवस्तु, सुर्खेतलगायतका जिल्लाहरुमा व्यक्तिको नाममा रहेको सरकारी जग्गा सकारको नाममा फिर्ता ल्याइसकेको छ।

व्यक्तिद्वारा अतिक्रमित भूमि १ इन्च पनि छोड्दैनौं : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले व्यक्तिहरुले अतिक्रण गरेको सार्वजनिक जमिनको एक इन्च पनि नछोड्ने बताएकी छन्। डिसी नेपालसँग कुरा गर्दै उनले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने क्रम जारी रहेको जनाउँदै उनले व्यक्तिको नाममा अतिक्रमित सम्पूर्ण भूमि फिता लिएरै छाड्ने अठोट व्यक्त गरिन्।

‘हामीले काम गरीरहेका छौं’, उनले भनिन्, ‘व्यक्तिका नाममा अतिक्रमण गरिएको सम्पूर्ण सार्वजनिक जग्गा फिर्ता लिएरै छाड्छौं।’ बालुवाटारको ललिता निवास लगायतका सार्वजनिक जग्गामा व्यक्तिले अतिक्रमण गरेकोमा केही जग्गा फिर्ता लिएको उनले जानकारी दिइन्। उनले भनिन्, ‘केही ठाँउको जग्गा हामीले फिर्ता पनि लिएका छौं। म आफै पनि केही ठाउँमा गएर सार्वजनिक जग्गालाई सरकारको नाममा ल्याउने काम भएको छ।’

अख्तियारले कारवाही सुरु गरेको र अदालतमा पुगेकोले केही समय लागे पनि बालुवाटारको जग्गा सरकारको नाममा फिर्ता ल्याएरै छोड्ने उनको अठोट छ। उनले भनिन्, ‘वालुवाटारको जग्गा पनि फिर्ता हुन्छ। अहिले प्रक्रियामा छ। संलग्न रहेका राजनीतिक व्यक्तित्वलाई अख्तियारले र कर्मचारीलाई अदालतले कारवाही गरिरहेको छ। त्यो जग्गा पनि फिर्ता लिएरै छाड्छौं।’

वालुवाटारको जग्गा फिर्ता नलिएसम्म कुनै काम नै गरेको छैन की भन्ने लागेको मन्त्री अर्यालले बताइन्। ‘मलाइ काम गरेकै जस्तो लागेको छैन,’ मन्त्री अर्यालले भनिन्, ‘यो वालुवाटारको जग्गा फिर्ता नलिएसम्म त काम नै गर्न सकेन कि झैं लागेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *