छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार इरानको भनाई

डिसी नेपाल
५ साउन २०७७ १९:४४

तेहरान । तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् ।

इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ ।

इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरूसँग वार्ता तथा सहयोगका लागि सदैव तयार रहेको प्रवक्ता मौसवीले आइतबार आफ्नो इराक भ्रमणका क्रममा परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफसँथ बताए ।

“इरानले सधै अरब क्षेत्रको स्थायित्व, सुरक्षा र शान्ति चाहन्छ र यस क्षेत्रको आर्थिक समृद्धि, सुरक्षा बहाली र राजनीतिक तथा सामाजिक स्थायित्वका लागि वार्ता नै उत्तम विकल्प रहेको छ,” मौसवीले भने ।

बग्दाद भ्रमणका क्रममा जरीफले इराकी राष्ट्रपति बाहहम सलिह, प्रधानमन्त्री मुस्तफा अल कादिमी, परराष्ट्रमन्त्री फुआद हुसेनलगायत अन्य वरिष्ठ राजनीतिक अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

ती भेटहरूमा जरीफले क्षेत्रीय राज्यहरूबीच अन्तरक्रिया, सहकार्य गर्ने र छिमेकी इराकको साथ वृहत्तर सम्बन्धविस्तार गर्नेमा जोड दिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *