मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

डिसी नेपाल
६ साउन २०७७ १८:५९

माले । मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ ।

पर्यटनमन्त्रीसमेत रहेका मालदिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी लेखिएका समाचारहरूमा पर्यटन व्यवसायका लागि भाडामा लिइएका सरकारी जग्गाको भाडामा अत्यधिक समायोजन गरिने बताएको उल्लेख गरिएको छ ।

यसले कोभिड–१९ को महामारीका कारण प्रभावित पर्यटन व्यवसायका लागि विभिन्न टापूमा भएका लगानीलाई राहत पुग्ने र उनीहरूको आर्थिक सुधारमा टेवा पुग्ने स्माइलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पर्यटनका लागि दिइएका जग्गाको भाडादर प्रति वर्गमिटर दुई अमेरिकी डलर कायम हुनेगरी सरकारले कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।

मालदिभ्समा पर्यटन व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका जग्गाबाट सरकारले ठूलो मात्रामा राजश्व सङ्कलन गर्ने गरेको छ । सन् २०१९ मा जग्गा भाडाबाट १० करोड ३६ लाख अमेरिकी डलर राजश्व सङ्कलन गरेको थियो ।

मालदिभ्समा कोभिड–१९ महामारीको कारण पर्यटन क्षेत्रमा व्यापक प्रभाब परेको छ । मालदिभ्सको इतिहासमा पछिल्ला केही दशक यता विदेशी पर्यटकको आगमन सङ्ख्या शुन्य रहेको छ । मालदिभ्समा गत मार्च २० देखि जुलाई १५सम्म विदेशी मुलुकहरूसँगको सीमानाकाहरू बन्द गरिएका छन् ।

मालदिभ्समा कोभिड–१९ बाट हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ९९९ रहेको छ भने अझै सक्रिय सङ्क्रमितको सङ्ख्या ६१५ रहेको छ । मालदिभ्समा दुई हजार ३६९ सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् भने मङ्गलबारसम्म १५ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *