हिँड्दाहिँड्दै व्यथा लागेपछि..

डिसी नेपाल
९ साउन २०७७ ७:३३

बागलुङ। प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन्। बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी भएकी हुन्।

पहिराले सडक अवरुद्ध हुँदा पैदलै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिए। घर्तीले बिहीबार छोरी जन्माएकी हुन्। “गाडी नचलेपछि उहाँहरु अलपत्र पर्नुभएको रहेछ, हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु प-र्यो”, स्वास्थ्यकर्मी केसीले भने, “म लगायत स्थानीय आमासमूह मिलेर उहाँको उद्धार र तत्काल गर्नुपर्ने स्याहार ग-र्यौँ ।”

नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उनको भनाइ छ। गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो। “शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ”, केसीले भने, “उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ।”

शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पु-याइएको थियो। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए। “आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमा हुनुहुन्छ, म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने।

बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए। अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो। निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *