नरभक्षी बन्दै ध्रुवीय भालु, यो शताब्दीमा विलुप्त हुने खतरा रहेको वैज्ञानिकको प्रक्षेपण

डिसी नेपाल
१० साउन २०७७ ८:४७

काठमाडौं। यदि हरितकण ग्यासको उत्सर्जन जारी रहेमा यो शताब्दीको अन्त्यसम्म अधिकांश ध्रुवीय भालु विलुप्त हुनेछन् । नेचर जर्नलमा प्रकाशित वैज्ञानिकहरुको एक शोधपत्रमा यो प्रक्षेपण गरिएको छ । सन् २१०० सम्म केही ध्रुवीय भालुहरु क्यानडाको क्वीन एलिजावेथ द्वीप समूहमा मात्रै बाँकी रहनेछन् । शोधका अनुसार सन् २०४० को सुरुवातमा कैयौं ध्रुवीय भालुको प्रजनन क्षमता समाप्त हुन थाल्नेछ । त्यसपछि उनीहरु लोप हुने सिलसिला सुरु हुनेछ ।

अनुसन्धानका अनुसार शोधकर्ताहरुले ध्रुवीय भालुका १९ मध्ये ती १३ प्रजातिको अध्ययन गरेका छन् जसको संख्या कूल ध्रुवीय भालुको ८० प्रतिशत छ । अनुसन्धानको क्रममा शोधकर्ताहरुले क्यानडेली आर्कटिक इलाकाका द्वीप समूहहरुका ध्रुवीय भालुको भने अध्ययन गरेका छैनन् । यसको कारण यो इलाकामा यिनीहरुको अनुमान गर्नु निकै कठिन भएको वैज्ञानिकहरुले बताएका छन् ।

विश्वभर १९ प्रजातिका २६ हजार ध्रुवीय भालु छन् । यिनीहरु क्यानडा, नर्वेदेखि साइेरियामा पाइन्छन् । यी भालुहरु खानाको लागि माछामा निर्भर छन् । यिनीहरु हिउँभित्र बन्ने खाल्डोभित्र पाइने माछा खाएर जीवनयापन गर्छन् । कैयौं पटक यिनीहरुलाई भोजन खोज्न कैयौ समय लाग्छ । हालै भोकले तड्पिँदै गरेका पोलार भालुको तस्वीर भाइरल भएको थियो ।

जब–जब ग्लोबल वार्मिङ बढिरहेको छ, ग्लेशियरको हिउँ पग्लिरहेको छ । यिनीहरुको घट्दो संख्याको पछाडि यही सबैभन्दा ठूलो कारण हो । शोधकर्ताहरुले आफूहरुले अनुमान लगाएजस्तै भालुहरुको प्रजनन क्षमतामा गिरावट आइरहेको दावी गरेका छन् । एक समय यस्तो आउनेछ जब उनीहरुले लामो सायसम्म भोजन पाउने छैनन् र यिनीहरु प्रजननको लायक रहने छैनन् ।

यदि ग्रिनहाउस ग्यासहरुमा नियन्त्रण गरिएन भने २०८० सम्म अलास्का र रुसका सबै भालु समाप्त हुन सुरु हुनेछन् । २१०० सम्म यिनीहरुको पूरै संख्या समाप्त हुन सक्छ । यिनीहरु लामो समय भोकै जीवित रहन त सक्छन् तर यस्तो स्थिति लगातार रहेमा यिनीहरुको शरीर कमजोर हुनेछ र प्रजनन गर्न लायक रहने छैनन् ।

जलवायु परिवर्तन र मानवीय दखलले ध्रुवीय भालुहरुको व्यवहारमा पनि परिवर्तन ल्याइरहेको छ । रुसी वैज्ञानिकहरुले आफ्नो शोधमा यी भालुहरु नरभक्षी भइरहेको दावी गरेका छन् । उनीहरु भोजनको खोजीमा लामो दूरी पार गरेर मानिसको सम्पर्कमा आइरहेका छन् । यतिमात्र होइन घट्दो भोजनको स्रोतका कारण उनीहरु एक अर्कालाई मार्न थालेका छन् । यसरी शिकार बन्नेमा बच्चा भएका पोथी बढी छन् ।

शोधकर्ता मर्डभिन्टसेभका अनुसार ध्रुवीय भालुहरु नरभक्षी हुँदै गएको कुरा केही समय अघिदेखि नै थाहा भएको हो । ‘चर हामीलाई चिन्ता छ कि यस्ता घटना निकै कम हुनुपर्नेमा अहिले धेरै घटनाहरु रेकर्ड गरिएका छन्’ उनले भने । यसका अलावा भालुहरुमा खानाको कमीका कारण आपसी लडाइँ बढिरहेको छ जसमा दुईमध्ये एकको ज्यान गइरहेको छ । आकार र शक्तिमा ठूला भालुले बच्चासहितका पोथीलाई शिकार बनाइरहेका छन् । ठूला भालुहरुलाई बच्चा मारेर खानु अरु शिकार खोज्नुभन्दा धेरै सजिलो हुन्छ ।

विगत २५ वर्षमा भएको जलवायु परिवर्तनका कारण आर्कटिकमा ४० प्रतिशतसम्म हिउँ पग्लिएको छ । यसले ध्रुवीय भालुहरुको भोजनको स्रोत तीब्र रुपमा घटिरहेको छ । भालु हिउँमुनि पानीमा हुने सील माछा शिकार गरेर खान्छन् । मर्डभिन्टसेभका अनुसार यसपटकको हिउँदमा भालुहरुलाई रुसको ओबीको खाडीदेखि बेरेन्ट्स सागरसम्म शिकार गरिरहेको देखिएको छ । यो मार्ग एलएनजी (लिक्विड नेचुरल ग्यास) प्लान्टबाट ग्यास ल्याउने समुद्री जहाजहरुको व्यस्त रुट हो ।

गएको फेब्रुअरीमा प्रकाशित एक अन्य शोधमा भालुले आफूजत्रै ठूला शिकारलाई हिउँभित्र लुकाइरहेको खुलासा गरिएको थियो ताकि पछि आवश्यक पर्दा त्यसलाई निकालेर खान सकियोस् । वैज्ञानिकहरुले यो प्रक्रियालाई क्यासिङ भनेका छन् । खाना लुकाउने यो व्यवहार खैरा भालुहरुमा पाइन्छ जो ५ लाख वर्ष पहिले ध्रुवीय भालुबाटै विकसित भएर अस्तित्वमा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *