सुरक्षाकर्मी सहितको टोली गाथ लिएर हिड्यो छायाँनाथ धाम

डिसी नेपाल
१३ साउन २०७७ १७:१९

मोहन कुमार मल्ल

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेको छायाँनाथको मन्दिरबाट आज भगवान शिव र सतीदेवीको (गाथ)मुर्ती लिएर पुजारी,सुरक्षाकर्मी तथा स्थानियहरुको टोली छायाँनाथ धाम यात्राको लागी हिडेकोे छ ।

जिल्लाको मुगुमकार्मारोङ्ग गाँउपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाम र जिल्लाकै छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ मा रहेको ऋणीमोक्ष्य धाममा वर्षेनी साउनको अष्ठमी देखि पुर्णिमासम्म मेला लाग्ने गर्दछ। यस अवसरमा देश भित्रका र छिमेकी देश भारतबाट समेत हजारौ तिर्थयात्रुहरु आफना कुल देवताको शुद्धी, नयाँ धामी,झाकी्र औतार गर्न, आफुले चाहेको बर माग्न र पितृहरुको सम्झना गर्न आउने भएकाले तिर्थालु तथा भक्तजनहरुको दर्शनका लागी चैन गाँउको छायाँनाथ मन्दिरमा रहेका गाथहरु ५ हजार मिटरको उचाईमा रहेको छायाँक्षेत्रमा लाने गरिएको छ ।

हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथा अनुसार यज्ञको सतीदेवीले होम कुन्डमा हामफाली प्राण त्याग गरेपछि महादेव विरक्त भै सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जाँदा सतीदेवीका अंग जहाँ जहाँ पतन भए ति स्थान शक्तिपिठका रुपमा स्थापना भएको र छायाँनाथमा सतीदेवीका अन्तीममा बाँकी रहेका सबै अंग पतन भएको छायाँनाथ अदभुत शक्ति पिठका रुपमा रहदै आएको बताइन्छ ।

उता ऋणीमोक्ष तिर्थ स्थल बारे हिन्दु धर्मालम्बीहरु छाँयानाथमा महादेव बसेकाले उनको ध्यान सतीदेवीबाट मोक्ष गराउन अप्सरा तथा देवीहरुले ऋणीमोक्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरु त्यहाँ रहेको भन्दै पुजाआजा र आफना पाप मोक्ष र बर प्राप्तीका लागी आउने गरेको पुजारी पुर्ण प्रसाद चौलागाई बताउँछन् ।

हिन्दुधर्मालम्विहरुको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण भन्दै आवगामनमा रोक लगाएपनि साउन महिनामा छायाँनाथ धाममा गाथ लिनै पर्ने बाध्यकारी अवस्थाका कारण आज गाथ सहित सुरक्षाकर्मी,पुजारी र भक्तालु सर्वसाधरण छायाँनाथ धाम तर्फ हिडेको पुजारी भिम प्रसाद चौलागाईले बताए ।

छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च हिमालमा रहेका र यहाँ बाहै महिना हिउँ जम्ने भएकाले दैनिक पुजाआजा गर्न समस्या हुने भएकाले महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र ऋणीमोक्क्ष मन्दिरमा राखिदै आएका छन भने प्रत्र्यक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित गाथ (मुर्ती)छायाँनाथ र ऋणीमोक्क्ष धाममा पुजाआजा र भक्तजनहरुको दर्शनका लागी लिने गरिन्छ ।

छायाँनाथ मन्दिर रहेको चैनगाँउबाट छायाँनाथ धाम ३ दिन टाढा हिमालमा रहेको र त्यहाँ बास,गाँसको व्यवस्था नहुने भएकाले तिर्थालुहरुले आफै बास गाँसको जोहो गरेर यात्रामा जाने गरेकाछन ।

विश्वमा रहेका हिन्दु,बौद्ध तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकासराज्यका निकायहरुबाट हुन नसक्दा देशले धार्मिक पर्यटन गुमाउदै आएको छ ।

देश तथा कणाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्ता गराउने हो भने संघिय,प्रदेश तथा स्थानिय सरकारहरुले आ आफनो क्षमता अनुसार छायाँनाथको विकासमा लगानी गर्नु पर्ने देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *