नेपालमै प्लाज्माथेरापीबाट सफल उपचारः कोरोनाका गम्भीर संक्रमितलाई सुखद समाचार

डिसी नेपाल
१९ साउन २०७७ ७:१५

काठमाडौं। नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मोरङ विराटनगरका पुरुष संक्रमितको बिहीबार राति प्लाज्मा थेरापी गरिएको हो। ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै छन्। संक्रमित र दाता दुवैको परिचय अस्पतालले गोप्य राखेको छ।

प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल आएका हुन्। झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए। भर्ना हुँदा निमोनियाको समस्या पनि थियो। कोरोना संक्रमणपछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका छन।

‘भर्ना हुने बेला ती पुरुषमा निमोनियाको संक्रमण थियो’, उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा। दासले भने, ‘शरीरमा अक्सिजन अभाव थियो। उहाँलाई ८० प्रतिशत अक्सिजन चाहिएको थियो।’ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा लगिएको उनको भनाइ छ। ‘कोभिड र निमोनिया दुवैको हिसाबले उपचार गरियो। उपचार गर्दागर्दै पनि स्वास्थ्यमा खासै सुधार भएन’, उनले भने।

उनको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सक टिमको बैठक बस्यो। प्लाज्मा थेरापीद्वारा उपचार गर्ने सहमति जुट्यो। बिरामी पक्षलाई सूचित गरियो। सोहीअनुरूप दाताको खोजी गरे। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सम्पर्क गरे। संक्रमणपछि निको भएका एक युवक फेला परे। उनी प्लाज्मा थेरापीका लागि तयार भए। बिहीबार राति प्लाज्मा थेरापी गरियो। मधुमेह र उच्च रक्तचापको समस्या भोगिरहेका ती पुरुषको परिचय सार्वजनिक गरिएको छैन।

कोरोना संक्रमणबाट निको भएका व्यक्तिको प्लाज्मा दिएपछि संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। प्लाज्मा थेरापीको भोलिपल्ट शुक्रबारदेखि स्वास्थ्यमा सुधार हुन थालेको डा। दासले बताए। ‘बिहीबार त भेन्टिलेटरमै राख्नुपर्छ कि भन्ने अवस्था थियो। तर, शुक्रबारदेखि क्रमिक रूपमा सुधार भयो’, उनले भने।

उनको निमोनियाको समस्यामा पनि सुधार आएको छ। त्यस्तै अक्सिजनको मात्रामा पनि क्रमिक सुधार भइरहेको छ। थेरापीबाट उपचार गरेको ४८ घण्टापछि लगभग ७० प्रतिशत जति सुधार भएको डा। दासले बताए। उनका अनुसार भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन। दोस्रो पटक प्लाज्मा दिनुपर्ने आवश्यकता पनि देखिँदैन। ‘एक दुई दिनमै आईसीयूबाट बाहिर निकाल्ने योजना गरिरहेका छौं’, उनले भनेको समाचार आज अन्नपुर्ण पोस्टले प्रकाशित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *