माडीका मेयर भन्छन् : भारतको अयोध्यापछि नेपालको अयोध्यामा पनि मन्दिर बनाउने तयारी

तर्कबहादुर थापा
२५ साउन २०७७ १०:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामचन्द्रको जन्म मूभि नेपालमै रहेको बताएपछि नेपालमा रामको जन्म भूमिलाई लिएर बहस चलिरहेकै बेला रामको जन्म भूमि मानिएको भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यस भयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धुमधामका साथ उत्तरप्रदेशको अयोध्यामा मन्दिर शिलान्यास गर्दा दिएको मन्तव्यमा रामको सम्बन्ध नेपालको जनकपुरसँग रहेको स्मरण गरे। रामको बिहे जनकपुरकी राजकुमारी सीतासँग भएको थियो।

तर, यता नेपालमा भने राम ज्वाईँ नभएर छोरा भएको बहस नेपालमा चलिरहेको छ। रामको जन्म भूमिलाई लिएर नेपालमा केही विज्ञहरुले आ आफ्नो मत पनि राखिरहेका छन्।

यहीबीचमा शनिबार रामको जन्म भूमि रहेको प्रधानमन्त्रीले दावी गरेको चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरे। र भेटमा प्रधानमन्त्री ओलीले २०७८ को रामनमवीमा अनावरण गर्ने गरी साविकको अयोध्यापुरी गाविसमा राम, लक्ष्मण र सीताको भव्य मूर्तिसहित मन्दिर बनाउन निर्देशन दिए।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाँडो राममन्दिरका लागि योजना बनाएर कामममा लाग्न निर्देशन दिएको माडी नगरपालिकाका मेयर ढकालले बताए।

मेयर ढकालले प्रधानमन्त्रीले दिएको निर्देशनबाट उत्साहित भएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै ढकालले शनिबार करिव २ घण्टा प्रधानमन्त्रीसँग कुरा गर्नपाउँदा खुसी भएको बताउँदै माडीमा राममन्दिर निर्माण गर्न दिएको निर्देशनबाट पनि उत्साहित भएको बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीसँग लामो समय कुरा गर्न पाए खुसी छु। करिव २ घण्टासम्म कुरा भएको थियो। प्रधानमन्त्रीज्यूले माडीमा रामको जन्म भएको धेरै तथ्यहरुले प्रमाणित गर्छ भन्नु भयो। चाँडै राममन्दिर निमार्णका लागि निर्देशन दिनुभयो। माणिबासी उत्साहित छौं।’
उनले डिसी नेपालसँग भने, ‘मन्दिर निर्माण गर्ने कुरा, लाखको विषय होइन, करोडौंको कुरा छ, त्यसैले हामीले बजेटका विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गरेका छौं।’

प्रधानमन्त्री ओलीले अयोध्यापुरीलाई रामधामकै रुपमा विकास गर्ने गरी मास्टर प्लान बनाउनसमेत भनेका छन्। माडी नगरपालिकाले राममन्दिर निमार्णका लागि आवश्यक योजना बनाउने पनि तयारी गरिरहेको नगर प्रमुख ढकालले जानकारी दिए।

माडी नगरपालिका भित्र पर्ने सीताराम गुफा, वाल्मिकी आश्रम र परशुराम कुण्डलगायतका पुरातात्विक स्थानहरुलाई पनि संरक्षण र सम्बर्धनका लागि पनि विज्ञहरुसँग आवश्यक छलफल गर्ने बताए।

‘राममन्दिर निमार्णका लागि बनाएको समिति छ। अब चाँडै समितिको बैठक बस्ने छ।’ नगरप्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीज्यू कै निर्देशन अनुरुप हामीले मन्दिर निमार्णका लागि आवश्यक जग्गाको खोजि गर्ने छौं। अहिलेको अवस्थित जग्गा सामुदायिक वनमा परेको छ। प्रधानमन्त्रीज्यूले त्यसका लागि पनि मन्त्रालय र विभागहरुसँग आवश्यक परामर्श गरी सहजीकरण गरिदिने आश्वासन दिनु भएको छ।’

‘माडी नगरपालिकामा अवस्थित अयोध्यापुरीमा राममन्दिर बनाउन प्रधानमन्त्री आतुर हुनुहुन्छ’, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले भने, ‘उहाँले हामीलाई जतिसक्दो चाँडो योजना बनाउनुहोस भन्नु भएको छ। हामी त्यो अनुसार चाडैँ छलफलमा जुट्दै छौं।’

अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन दिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’

गत असार २९ गते रामायणका नेपाली अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरी नेपाली संस्कृतिमाथि धावा बोलेको अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिपछि नेपालमा तरंग आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *