कोरोना संक्रमण : उपत्यकामा खतराको घण्टी

तर्कबहादुर थापा
२६ साउन २०७७ १३:०१

काठमाडौं। संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाको ‘इपी सेन्टर’ बन्ने खतरा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा करिव १ हजार ‘एक्टिभ’ केशहरु रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार मुलुकभर हालसम्म २२ हजार ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १६ हजार ३ सय ५३ जना निको भएर घर फर्केका छन् भने, ७५ जनाले कोरोनाका कारण ज्यान समेत गुमाई सकेका छन्।

यस्तै ६ हजार ५ सय ४४ जनाको देशका विभिन्न अस्पतालमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका १२ वटा सरकारी अस्पतालमा ३ सय ५१ आइसोलेसन बेड, १ सय ६३ आइसीयू बेड, ७८ भेन्टिलेटर रहेका छन् भने २ हजार ८ सय ६८ वटा जनरल बेड रहेका छन्।

यस्तै, निजी तर्फका १६ वटा हस्पिटल र २ वटा मेडिकल कलेजसहितमा १ सय ९४ आइसोलेसन बेड, २ सय १९ आइसीयू बेड, १ सय ३६ भेन्टिलेटर बेड र ३ हजार ५ सय ३ जनरल बेड रहेका छन्।

करिव ३० लाखको हाराहारीमा जनसंख्या रहेको काठमाडौं उपत्यकामा ५ सय ४५ आइसोलेसन बेड, ४ सय ५४ आइसीयू बेड, २ सय १४ भेन्टिलेटर बेड र ५ हजार ५ सय ७१ जनरल बेड रहेका छन्।

जनस्वास्थ्यविद् रविन्द्र पाण्डे भने काठमाडौंमा उपत्यकामा सर्वसाधारणले गरेको कोरोनाप्रतिको वेवास्ताका कारणस्थिति भयावह हुनसक्ने तर्फ संकेत गर्छन्। काठमाडौं उपत्यकामा जनघनत्व बढी भएको कारण र सर्वसाधारणले सडकमा निस्किँदा स्वास्थ्य सम्बन्धी मापदण्ड नअपनाएका कारण कोरोनाको प्रभाव बढ्दै जानेतर्फ उनले संकेत गरेका हुन्।

रोकथामको विकल्प छैन : डा. अधिकारी सहप्रवक्ता स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले कोरोना रोकथामको विकल्प नभएको बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले विश्वभरी नै कोरोना रोकथाम मात्र अहिलेको सर्वमान्य विधि भएकाले नेपालले पनि रोकथामकै विधि अपनाएको र रोकथामको विकल्प नभएको बताएका हुन्।

उनले हरेक व्यक्तिले आफूलाई सुरक्षित राख्ने उपाए अपनाएर बस्नु नै कोरोनाबाट बच्ने एकमात्र उपाए भएको बताए। उनले भने, ‘हरेक व्यक्तिले अर्कोलाई आशंका गर्दैै आफू कसरी सुरक्षित रहने भन्ने बारेमो सोच्नु पर्दछ। विश्वभरी नै कोरोनाको उपचार भनेको रोकथाम मात्र हो। हालसम्म विश्वले नै रोकथाम विधिलाई नै सर्वमान्य ठानेको छ र नेपाल सरकार पनि कोरोना रोकथामकै उपाएलाई अपनाएर अगाडि बढेको छ।’

सरकारले लकडाउन भने पनि सटडाउन भने पनि सडकमा मान्छेको चाप उत्तिकै बढेकाले पनि काठमाडौं उपत्यकामा कोरोना जोखिम दिन प्रतिदिन बढ्दै गएको छ। जोखिम छ भन्ने सबैले थाहा पाए पनि बेवास्ता गरको डा. अधिकारीको बुझाई छ।

उनले भने, ‘सबैले वेवास्ता गरे जस्तो लाग्छ। मानिसहरु सरकारले जारी गरेको सुरक्षाका मापदण्डहरु पनि नअपनाएरै बाहिर निस्कने गरेका छन्। अब हामीले पनि सबैले देख्ने गरी सचेतनाका कार्यक्रमहरु ल्याउनु पर्छ। सर्वसाधारणलाई सचेत नबनाएसम्म रोकथाममा सहयोग हुँदैन। कोरोना नियन्त्रणको लागि हालसम्म रोकथाम भन्दा अर्को कुनैपनि विकल्प छैन।’

आवश्यक्ता अनुसार आइसोलेसन थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आवश्यक्ता अनुसार आइसोलेसन बेड र भेन्टिलेटरको संख्यामा वृद्धि गरिने बताउँछन्। उनले उपत्यकामा रहेको क्वारेन्टाइनहरुको अवस्था बारे बुझ्दै आइसोलेसनमा परिणत गर्न सकिने संकेत गरे।

उनले भने, ‘हामीले सकभर होम क्वारेन्टाइन, आइसोलेसनमा जोड दिएका छौं। घरमा बसेर आइसोलेसनको काम गर्न नमिल्ने अवस्था भएपछि मात्र अस्पतालहरुमा लैजाने सोच गरेका छौं। सकेसम्म घरमै स्वास्थ्य कर्मीको निगरानीमा राख्ने वातावरणको तयारी हुँदै छ।’

कोरोना संक्रमण भइसकेपछि यही उपचार हुन्छ भनेर हालसम्म प्रमाणित नभएका कारण सक्दो रोकथाममा नै ध्यान दिनु पर्ने उनले बताए।

उनले भने, ‘कोरोना संक्रमण मुक्त भएर फर्किएका सँग पनि बुझ्न सक्नु हुन्छ। डाक्टरहरुले नियमित हेरचाह, सामान्य स्वास्थ्य जानकारी र स्वास्थ्य सम्बन्धी मापदण्डलाई फ्लो मात्र गराएर कोरोना जितेको अवस्था छ। यस्तै रेकदेख घरैम ागर्न सकियो भने राम्रो हुन्छ भन्ने हो।’

विशेषतः स्वास फेर्न गाह्रो हुने, ओठ निलो हुने, झाडापखला लाग्ने, सुख्खा खोकी बढी लाग्ने, ज्वरो बढी आउने जस्ता लक्षण सहित कोरोना पोजेटिभ देखिएपछि अलि बढी खतरा हुने डा अधिकारीले जानकारी दिए। ‘लक्षण विनाको कोरोना संक्रमण भएकालाई अस्पतालको आवश्यक्ता पर्छ भन्ने लाग्दैन’, डा. अधिकारीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *