देशभक्त राजनेता कीर्तिनिधि विष्ट

डिसी नेपाल
२८ साउन २०७७ ८:४३

कीर्तिनिधि विष्ट एक सच्चा राष्ट्रवादी, प्रजातन्त्रवादी, राजावादी, कर्तव्यनिष्ट अनुशासित, इमानदार र नैतिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। नेपालको राजनीनीतिक इतिहासमा उहाँको राजनेताको रूपमा सग्लो पहिचान रहेको छ ।

अत्यन्त कठीन र प्रतिकुल परिस्थितिलाई पनि सहजरूपमा लिने र सहजताकासाथ समस्याको समाधान निकाल्न सक्ने उहाँको क्षमता थियो। सुखमा नपात्तिने र दुक्खमा नआत्तिने कीर्तिबाबु राजा महेन्द्रका प्रमुख विश्वासपात्र मध्ये एक हुनुहुन्थ्यो। उहाँ सरल र मिलनसार स्वभावको भएको हुँदा जनप्रिय पनि त्यतिकै हुनुहुन्थ्यो ।

२०१५ सालको आमनिर्वाचनवाट नेपाली काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेको भए तापनि दलीय व्यवस्था सञ्चालनार्थ नेतृत्वतहमा देखापरेको परिपक्क अनुभवको अभावमा देशी र विदेशी शक्तिहरूको चलखेलले प्रजातन्त्र र राष्ट्रियता माथि नै खतरा उत्पन्न हुने अवस्था थियो।

त्यस्तो परिस्थितिलाई समेत ध्यानमा राखेर राजा श्री ५ महेन्द्रवाट तत्कालको लागि वहुदलीय व्यवस्था विस्थापित गरिएको थियो। साथै मौसुफबाट आफ्ना निकटतम विश्वासपात्र राजनीतिक र प्रशासनिक व्यक्तित्वहरूसँग रायसल्लाहगरी विश्वकै नविनतम् फरक चरित्र भएको दलविहीन प्रजातान्त्रिक पञ्चायती व्यवस्था सञ्चालन गर्ने अभिप्राय भयो।

अनि त्यस महा अभियानमा कीर्तिनिधि विष्टको भूमिका उल्लेख्य रहेको थियो। देशी र विदेशी शक्तिहरूलाई सन्तुलित रूपमा व्यवस्थापन गरी राजाको नेतृत्वमा सञ्चालित दलविहीन पञ्चायती व्यवस्थालाई प्रजातान्त्रिक प्रणालीको रूपमा सिद्ध गर्नु र नेपालको विकासमा विश्वकै शक्ति राष्ट्रहरूको सहभागिता गराउन परराष्ट्र मन्त्रीको हैसियतले विष्ट खेलेको भूमिका सफल थियो।

२०१७ सालको एतिहासिक परिवर्तनपछि २०१९ सालको संविधानले निर्दलीय प्रजातान्त्रिक पञ्चायती व्यवस्थाका माध्यमवाट नै मुलुक सुरक्षित र सवृद्ध वनाउने प्रतिबद्धताले देशी र विदेशी शक्तिहरूलाई तरंगित बनाएको मात्र थिएन पञ्चायती व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्थाका रूपमा सिद्ध गर्नु पनि त्यतिनै चुनौती पनि थियो।

पञ्चायती व्यवस्थादेखि बहुदलीय व्यवस्थासम्मको अवस्थामा राजसंस्थालाई पूर्ण रूपमा साथ दिने एउटै राजनेता हुनुहुन्थ्यो कीर्तिनिधि विष्ट। त्यसैले सधैं उहाँको छवी माथि बुद्धिजिवीले नैतिकताको पाठ पढिरहे। वास्तवमा जस्तो स्थितिमा पनि उहाँले राजाहरूलाई साथ दिइरहनु भयो।

परिवर्तनको नारा दिनु सजिलो र सहज हुन्छ तर परिवर्तनलाई निस्कर्षमा पुर्याउनु र जनताले अनुभूत गर्नु अर्थात् जनविश्वास कायम गर्नु त्यतिखेर सजिलो थिएन पनि। तर राजा महेन्द्रको क्रान्तिकारी अभियानलाई जनभावना अनुकुल तार्किक निष्कर्षमा पुर्याउन योग्य, क्षमतावान, इमानदार, कुशल, विज्ञ वक्तित्वहरूको आवश्यकता पर्दछ नै! जुन व्यक्तित्वहरूको अभाव राजा महेन्द्रलाई कहिलै भएन।

डाक्टर तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, खड्गबहादुर सिंह, विश्ववन्धु थापा, राजेश्वर देवकोटाहरूजस्ता महारथी लगायतका व्यक्तित्वहरूको सहयोग र समर्थनले विश्वको ध्यान आकर्षित मात्र गरेको थिएन, पञ्चायती व्यवस्थालाइ नै लोकसम्मतिमा आधारित प्रजातान्त्रिक प्रणाली भएको सर्वस्वीकार्य समेत गराइएको थियो।

कीर्तिनिधि विष्ट भन्नुहुन्थ्यो, ‘कुनै पनि राजनीति प्रणालीको नेतृत्व गर्ने नेताको चरित्र सियोको टुप्पो जस्तो हुन्छ, सियोको टुप्पो भाच्चिएपछि पुनः प्रयोग हुँदैन। राजनीतिक नेता पनि एकपटक दाग लागेपछि अर्थात् चरित्र भ्रष्ट भएपछि योग्य हुँदैन। राजनीतिक क्षेत्रमा कामगर्ने मानिसले आफ्नो ईमान, जवान र चरित्र बचाउन सकेन भने त्यो राजनीतिक पद्धति नै दुषित हुन्छ।’

विष्ट जस्तै विशिष्ट गुण भएका योग्य सक्षम व्यक्तिहरूको समूह बनाएर राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्थाको नेतृत्व गरिवक्सेको थियो। राजा महेन्द्रको प्रतिबद्धता थियो–अरूले एक सय वर्षमा गरेको काम हामीले दस वर्षमै गरिसक्नु पर्दछ ।’ हुन पनि राजा महेन्द्रको प्रत्यक्ष शासनकाल २०१९ देखि २०२८ सालसम्म मात्रै रह्यो ।

करिव ९ वर्षको अवधिभित्र नेपालमा अकल्पनीय कामहरू भए । उदाहरणका लागि भन्ने होभने छुवाछुतको अन्त्य, क्रान्तिकारी भूमिसुधार अभियान जसले तराईमा २५ विगाह र पहाडमा ८० रोपनी कायम गरी बढी भएको जग्गा राष्ट्रियकरण गर्ने साथै जस्ले जग्गा जोतेको छ जोत्नेलाई मोहियानीहक कायम गरी ४ विगाहसम्म जग्गाको स्वामित्व उपलव्ध गराउने काम भए।

बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, चिनियाँ ईटाभट्टा, चिनी कारखाना, कपड़ा उद्योग कारखाना, हिमाल सिमेन्ट कारखाना, जुटमिल्स, धानचामल कम्पनी, ट्रली वससेवा, नयाँशिक्षा योजना, गाउँफर्क राष्ट्रिय अभियान लगायत सामाजिक तथा नयाँ उद्योग व्यवसायको स्थापना गरी मुलुक औद्योगिककरणतर्फ उन्मुख भएको थियो।

यही समयमा पूर्व पश्चिम राजमार्ग, कोदारीराजमार्गलाई अगाडि बढाईएको थियो। यी सबै कार्रय गर्न राजाको होस्टेमा हैंसे गर्ने नेपालमा अर्का हर्कुलस थिए( कीर्तिनिधि विष्ट। विष्ट नेपालकै राजनीति इतिहासमा उच्च नैतिक मनोवल भएका राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त राजनेताका रूपमा कीर्तिमान स्थापित गर्न सफल हुनु भएको मानिन्छ ।

पञ्चायती व्यवस्थाको समयमा राजाको नेतृत्व थियो। राजाको प्रत्यक्ष नेतृत्वमा वसेका नेताहरू इमानदार र नैतिकवान थिए। पञ्चहरू जनताको सुविधाका निमित्त अहोरात्र खटिन्थे। त्यस बेला भ्रटाचारले ऐले जस्तो सबै क्षेत्रलाई प्रभाव पारेको नै थिएन। त्यस बेला अलिकति कमीकम्जोरी भएमा राजाले थाहा पाउँछन् भन्ने डर राखेर सबेले काम गर्दथे।

पञ्चायती व्यवस्था पूर्ण प्रजातान्त्रिक चाहिँ थिएन । तर जबसम्म वहुदलीय व्यवस्था सञ्चालन गर्नका निमित्त हाम्रो योग्यता, क्षमता, इमानदारिता, शिक्षा, स्वास्थ्य, अर्थ र अनुभववाट हामी तयारी हुँदैनौं तबसम्मका लागि मात्र पञ्चायती व्यवस्था सञ्चालन हुने कुरा राजाका तत्कालीन अभिव्यक्तिहरुवाट अनुमान गर्न सकिन्थ्यो।

पञ्चायती व्यवस्थादेखि बहुदलीय व्यवस्थासम्मको अवस्थामा राजसंस्थालाई पूर्ण रूपमा साथ दिने एउटै राजनेता हुनुहुन्थ्यो कीर्तिनिधि विष्ट। त्यसैले सधैं उहाँको छवी माथि बुद्धिजिवीले नैतिकताको पाठ पढिरहे। वास्तवमा जस्तो स्थितिमा पनि उहाँले राजाहरूलाई साथ दिइरहनु भयो।

राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका कार्यकालहरूमा विष्ट एउटा मानक राजनेताका रूपमा स्थापित भइरहनु भयो । उहाँ भावि पुस्ताले समेत सम्झिने छ।  एक माहान राष्ट्रबादी राजनेता हुनुहुन्छ ,किनभने उहाँका लागि नेपाल नै विश्व थियो । उहाँको जीवन नेपाल, नेपाल र नेपाल भनेर नै सकिएको थियो ।

लेखक पूर्वमन्त्री हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *