श्री ५ रत्नको आमा बन्ने अधिकार हनन् भएको थियो – Dcnepal

श्री ५ रत्नको आमा बन्ने अधिकार हनन् भएको थियो

‘भाद्र ४ मा श्री ५ रत्नको जन्मदिन रहेछ। केही लेख्नु है दिदी’ अंगुरबाबा जोशीको लेख प्रकाशित भएपछि सम्पादक चूडामणि भट्टराईले भन्नुभयो। श्री ५ रत्न बसेको नारायणहिटी दरवार परिसरकै महेन्द्र मञ्जिलमा ओली सरकारले बिजुली बत्तीको लाइन काटिदिएर बुढी मान्छेलाई हैरान पारेको समाचार बाहेक केही सुनेको पढेको छैन के लेख्नुजस्तो लाग्यो।

दुईचार दिन मेरो दिमाग रत्नमय भयो। मेरो पुस्तकालयमा उहाँबारे केही पाइनँ भन्दा पाप लाग्छ। विश्वेश्वरप्रसाद कोइरालाको आत्म वृतान्तको अन्त्यतिर तत्कालीन श्री ५ युवराजधिराज महेन्द्रको विवाह सम्बन्धमा उल्लेख गर्दा रत्नको एकदम संक्षेपमा उल्लेख रहेछ । कम्युटरमा खोजी गर्दा झन् संक्षेपमा रहेछ। आफ्नै दिमागी कम्प्यूटर खोल्दा अन्तर कुन्तरका उहाँबारे देखेका, सुनेका,भोगेका पुराना कुराहरु लुकेर बसेका रहेछन्।

आँखा चिम्लेर पूजा कोठामा ध्यानमा बस्ता किताबै खोले जस्तो सर्रर आए। यसले दुईवटा फाइदा भएको छ। मेरो लेख पनि लेखियो र मलाइ बिर्सने रोग लागेको रहेनछ भन्ने पनि प्रमाणित भयो। सम्झनाका तरेलीहरुमा उहाँकाबारे धेरै कुराहरु आए, तिनै कुरालाई यहाँ प्रस्तुत गरेकी छु। अहिललेलाई श्री ५ रत्नको विषयवस्तु तोकिदिनु हुने सम्पादकज्यूलाई पनि धन्यवाद।

सर्वप्रथम श्री ५ मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह सरकारको बयानब्बेऔं शुभजन्मोत्सवका उपलक्षमा हार्दिक मंगलकामना व्यक्त गर्दछु। मलाइ राजभाषा नआउने हुनाले म सर्वसाधारणकै भाषामा सम्बोधन गरी लेख्दैछु, अन्यथा नलिइयोस।

त्यसैपनि आफूले विगतमा जल्दोबल्दो समय बिताएको दरवारको एउटा सानो कुनामा थुनिएर बस्नु पर्ने त्यसमा पनि कोरोनाको प्रकोपले समाजिक दुरी कायम राख्न, भेट्नै पर्ने आफन्तजन पनि टाढिनु पर्ने अवस्थामा श्री ५ रत्नको सन्यासी जीवन कसरी बितिराखेको होलाम अनुमानमात्र गर्न सक्दछु। अनुभव गर्न सक्दिनँ।

रानी रत्नसँगको पहिलो भेट

मेरो मन अनायास छपन्न वर्ष पछाडि धकेलियो। धनकुटाको गोकुण्डेश्वर कन्याहाई इङलिस स्कूलकी प्रधानअध्यापिका लक्ष्मीदेवी श्रेष्ठले हामीलाई श्री ५ बडामहारानी रत्नराज्य लक्ष्मी देवीको छत्तिसौं शुभजन्मोत्सव मनाउन लाउनु भएको थियो। श्री ५ रत्नका फोटा जडित तुल र झण्डा बोकी विहानैदेखि हामीले स्कुलको प्राङ्गणदेखि पंक्तिवद्धभएर दुई–दुईको हल जोडी बनी बजार परिक्रमा गर्नु परेको थियो।

सालीको सालिन व्यक्तित्वले राजा महेन्द्रलाई साँच्चै आकर्षित पारेको रहेछ। आफ्नो विवाहसमेत गराइ दिने निर्वाचित प्रधानमन्त्रीलाई किन महेन्द्रले त्यस्तो कठोर कारवाही गरे जसले गर्दा नेपालको इतिहासमा उनीमाथि एक राजनीतिक कलंक लाग्यो?

मेरा स्वर ठूलो र प्रष्ट छ भनेर लक्ष्मी दिदीले मलाइ भट्याउने नारा सिकाउनु भयो र अरुले अमर रहुन र प्राण भन्दा प्यारो छ भने। बजार परिक्रमा भनेको कमलामो थियो त ? स्कुलबाटमाथिल्लो कोप्चे, बिहीबारे हाट, तल्लो कोप्चे, हुलाकटोल र बीचबजार हुँदै स्कुलपुग्दा त हामी केटीहरु थाकेर भुतुक्कै भएका थियौं।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य गन्यमान्यहरु भेला भएर बाहिर कार्यक्रम गरेको सम्झना छ। हामीलाई स्यावास दिँदै त्यो बेला मिठाई वितरण गरिएको थियो। मलाइ त्यो दिन आफूले महत्वपूर्ण कार्य गरे जस्तो लागेको थियो।

केही महिनापछि राजा रानीको धनकुटा सवारी हुने भएकाले केटीहरुलाई पनि स्काउट–बालचर तालिम दिनुपर्ने भयो रे भनेर छलफल गर्ने केटा स्कूलका प्रधानअध्यापक गोकुलमान श्रेष्ठ हाम्रो स्कुलमा आउनु भयो। एउटा हलमा छलफल गरी चाख हुने र लक्ष्मी दिदीले चाख जगाइ दिएका हामी केही छानियौं। गोकुल सरले दूई हप्ता जस्तो तालिम दिनु भयो।

बजारका केटीका तुलनामा म बाँदरजस्तो रुखचढ्न बाख्राजस्तो भीर कुद्न सक्तथेँ ।खुकुरी हँसिया, कर्द चलाउन आँउथ्यो। सबभन्दा रोचक त बजारका केटीलाई जंगलमा दिसा पिसाब गर्न अफ्ठेरो लाग्दा मैले सिकाई दिएकी छु त्यो बेला। तालिमको अन्त्यमा गोकुल सरले मलाइ क्याप्टेन बनाउनु भयो।

राजारानीको सवारीमा हामले पनि सलामी दियौं। त्यति मात्र नभएर मलाइ बाल संगठनको सभापति र केटा स्कुलमा भन्दा एक कक्षा माथिका नारायण जोशीलाई विद्यार्थी संगठनको सभापति बनाएर राजारानीको दर्शन गर्न धनकुटा गौंडा बडाहाकिम बस्ने घर अगाडि शाही सेनाले कवाज खेल्ने टुँडिखेलको पालभित्र लगे।

हात नहल्लाई निहुरिएर बोल्नु भनेको थियो। बलेको आगो तापेर मेरा बा आमाजस्तो बसेका राजारानीलाई देखेर मलाइ रत्तिपनि धक लागेन। रानीले सोध्नु भयो, ‘तिम्रो घर कहाँ हो?’ मैले हातले देखाउँदै ‘यही जंगल परतिर तिहीं छ’ के भनेकी थिएँ राजा रानी भन्दा अलि पर उभिएको एउटा जुङ्गे मान्छेले मुख बिगारेर के शान गरे मैले बुझिन। म अलमलिएको देखेर रानीले थाहा पाएर होला ‘निर्धक्क भइ बोल’ भनेपछि मेरो डर हराएको थियो।

नारायण जोशी केटा स्कुलका मात्र होइन धनकुटाकै स्टार थिए। केटीका लुगा लगाएर छमछम नाच्दथे। त्यही बेला केटासँग नाच्दा केटा नै केटी बन्ने चलन थियो र केटीले केटासँग नाच्दा पनि केटी नै केटा बन्दथे। राजा रानीलाई देखाउने सांस्कृतिक कार्य क्रममा उनीनाचे ननाचेको मलाइ थाहा भएन । म हेर्न बस्न भ्याइन।
मेरा पिताजी पेशाले कविराज भएपनि कविता पनि लेख्नु हुथ्यो। मे

रो पनि वाचनमा नाम परेछ। मैले बासँगै गएर कवि गोष्ठीमा राजारानीका अगाडि कविता वाचन गरेँ। ‘दोश्रोपल्ट रामलाई जन्मन आह्वान’ भन्ने कविता सुनाए“। हास्यरसले भरिएको कविता सुनेर राजा रानी र अरुहरुपनि हाँसे। मैले रानीबाट इनाम पाएँ। त्यसपछि दश कक्षा नपुग्दै म क्रान्तिकारी भइसकेकी थिएँ।

अतःमैले आफ्ना नामबाट २०३३ सालसम्म राजपरिवारका बारेमा केही लेखिन। तापनि तत्कालीन केही महिला र पुरुषहरुको नामबाट ‘घोष राइटिङ’ गर्नु परेको थियो जिविकोपार्जनका लागि। उनीहरुको लेखिदिँदा र ठट्यौलीमा लेख्न नहुने भनिएका कुराहरु पनि दिमागमा घुम्न थाले र मैले यहाँ लेख्न थाले अन्यथा अर्थ नलागोस्। त्यसो त मैले कृष्णप्रसाद भट्टराईका रोमान्टिक गफ पनि सुनेकी हूँ।

राजा महेन्द्रसँग रत्नको विवाह
राणाहरुले सत्ता हत्याएपछि ‘क’ श्रेणीका राणाका छोरी शाह राजपरिवारसँग विवाह गराउने परम्परा चलाए पनि धेरै भारततिरका राजा रजौटाका छोरीसँग विवाह गराइन्थ्यो।

यस्तै, शाहका छोरीहरुपनि राणालाई नदिएकाको भारतमै विवाह हुन्थ्यो। राजा त्रिभुवनले एकैपल्ट दुई भारतीय राजकुमारीसँग विवाह गरेका हुन्। उनका छोरा महेन्द्रले १९ वर्षकै उमेरमा दरवारकी सुसारे गीता गुरुङलाई गर्भवती बनाई बच्चा जन्मदा सबै व्यवस्था मिलाई दिएका रे।

राजा महेन्द्रसँग रानी रत्न

त्यति बेला शाहवा राणाका दरवारमा काम गर्ने केटी गर्भवती भएका भने भ्रुण हत्या, गर्भपतन, नवजात शिशु हत्या त सामान्य थियो भने कोही आमा समेत मारिन्थे। युवराज महेन्द्रले छोरालाई आफ्नो थर समेत दिएर उनकी प्रेमिका र छोरा रविन्द्र शाहलाई ठूलो घरसमेत बनाई दिएर राखेकोमा कसैको दुई मत देखिएन।

महेन्द्रले विवाह त हरिशम्शेर जबरा र मेघकुमारी राज्यलक्ष्मीकी छोरी इन्द्रकुमारी राज्यलक्ष्मी देवीसँग गरे। इन्द्रका तीन छोरी र तीन छोरा भएपछि उनी परलोक भइन्। महेन्द्र विह्वल भए। उनलाई छजना नावालखको रेखदेख गर्न आफ्नै साली उपयुक्त लाग्यो। राजा त्रिभुवन भने राणाकी छोरी फेरि विवाह नगराउने पक्षमा थिए।

प्रजातन्त्रले राणालाई फालेको थियो। त्यतिबेला विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री थिए। सुरुमा उनी नारायाणहिटी परिसर भित्र बसेका हुन्। पछिमात्र रंग महलसरेका हुन्। विपी व्यक्तिगत रुपमा पनि सारै सभ्य, सहृदयी र मिजासिला हुनाले त्रिभुवनका रानीहरुले पनि रेखदेख खातिर गरेको प्रसंग विपी पत्नी सुशीला आमापनि भन्नुहुन्थ्यो। विपीको आँटी, हठी र निर्णायक भूमिका महेन्द्रले बुझेका थिए।

अतः उनी विपी निवास रंग महल पुग्दछन्। त्यसबेला सानी छोरी मरेको दुःखमा सुशीला आमा रोइरहेको अवस्था र विपी शोकमा छोरीको लाश गाड्न लाने तरखरमा थिए। नावालख हुनाले जलाउनु हुँदैन थियो रे। रत्नसँग विवाह गर्न नदिए युवराज पदबाट राजीनामा दिन्छु भन्न गएका रहेछन् महेन्द्र। त्यस शोकको अवस्थामापनि विपीले महेन्द्रलाई सकारात्मक आश्वासन दिएर फर्काएका रहेछन्। अतः विपीले राजा त्रिभुवनलाई मनाएर महेन्द्रको रत्नसँग उनकी दिदी इन्द्र स्वर्गे भएको दुई वर्षपछि विवाह भयो।

तत्कालीन युवराज महेन्द्र र रत्नकाबीचको विवाहका अरु पनि संवेदनशील पक्ष छन्।रत्नलाई महेन्द्रले विवाह गर्नु पहिले नै बच्चा नहुने गराएर यानि पाठेघर फाल्न लगाएर विवाह गरेका हुन् । राजनैतिक धूर्त महेन्द्र पारिवारिक सोचमा पनि धूर्त नै रहेछन्। वीरेन्द्र भन्दा जेठो ल्याइतेपट्टिको छोराकै राजगद्दीकालागि दाबीको चलखेल होला कि भनी डराएका महेन्द्रले अरु केटीसँग दोश्रो विवाह गर्न नमानी सालीकै पिछा लागेको पनि सायद रत्नाले सौतेनी छोराछोरी भएपनि आफ्नै दिदीका सन्तान हुनाले माया गरी हुर्काउलिन भन्ने विश्वास गरेका थिए होला।

विगतका राजाका रानीहरुमा आफ्ना छोरा गद्दीमा बसाउन प्रतिस्पर्धा र षड्यन्त्र भएका घटनाहरु बुझेका महेन्द्रले सबै सोच विचार पुर्याई रत्नलाई विवाह गरेका रहेछन्। रत्नले आफ्नो आमा बन्ने नैसर्गिक अधिकारसमेत त्यागेर विधुर भिनाजुसँग विवाह गर्नु राष्ट्रकै लागि त्याग हो। अलग प्रकारको भएपनि भोटे राजासँग दोस्री श्रीमती हुन मञ्जुर भएकी भृकुटी जतिकै त्याग रत्नको देखिन्छ।

केही महिना अगाडि ‘सुली’ (कुखुराको दिसा) का लेखक ताना शर्माको भिडियो अन्तरर्वाता सुनें, हेरें। उनले दावी गरे, ‘ज्ञानेन्द्र र शोभा रत्नबाटै विवाह गर्नु अघि जन्मका हुन्’ प्रश्नकर्ताले पुनः सोधे ‘पक्कै हो त ?’ ‘अँ साच्चि म के भन्दै थिए?’ शर्मा अलमलिए र फेरि पत्रकारले सम्झाए पछि ‘हो हो ’भने। बिर्सने रोगले छोएजस्तो व्यक्तिले त्यस्तो गम्भिर अभियोग लगाउनुका पछाडि के मक्सद होला म बुझन सक्दिन।

एमालेकाले पाती लगाइ दिएको पनि सुनेको छैन। यति हल्कारुपमा मरेको बाघको जुँगा तान्न तम्सने व्यक्तिले प्रमाण पुर्याउनु पर्ने न्यायको मर्म हुन्छ। बाघ मरेको छैन। बाघ बूढो र स्याल तन्नेरी हुँदैन। भारतीय जनताले त्यहाँका राजा रजौटाका श्रीमतीहरुलाई अझैपनि राजमाता भनी सम्बोधन गर्दछन्।

त्रिभुवनकै बहिनी पनि भारतमा कुनै एक ठाउँकै राजमाता छन्। अरु राणा र शाहका छोरीहरुले पनि सम्मान पाएका छन्। हामी बहुसंख्यक नेपालीको जात चाहिँ अरुलाई होच्याएर आफूलाई ठूलो हुनुपर्ने रहेछ क्यारे । अरुको मन दुःखाएर आफू खुसीहुने मनोवैज्ञानिक रोग हो।

विपीसँग साह्रै प्रसन्न श्री ५ रत्नले विपी र सुशीलाआमालाई आफ्नै हातले बनाएको खाना खुवाउनु हुन्थ्यो रे। आफ्ना पति श्री ५ महेन्द्रलाई युवराज हुँदादेखि खुवाउन थालेको त्रिभुवनको मृत्यु पश्चात राजाभएपछि पनि आफैं पकाएर खुवाउने गर्नुभएको थियो रे। २०१३ साल वैशाख ३० गते श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको राज्याभिषेक भएपछि उहाँ श्री ५ वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह औपचारिक रुपमा नेपालकी राजमाता बन्नु भएको हो। राजा महेन्द्र रसिकपनि थिए। उनले श्री

५ रत्नको सुन्दरतामा गीतपनि लेखेः—
गाजलु ती ठूला ठूलाआखाँ
तीर बनी बसे यो दिलैमा …..

गायक चाहिँ किन पाकिस्तानी मैले बुझेको छैन। तापनि राजाशासकहरुले आफ्नो कमलो मनको उद्गार त्यसमा पनि पत्नीको प्रसंशा व्यक्त गरेको कमै छ। त्यस्तो माया गर्ने राजा आफैंसँग हुँदाहुँदै स्वर्गे हुँदा कस्तो भयो होला, यो कल्पना बाहिरको कुरा हो।

त्यस पछिका राजनैतिक उथलपुथल राजतन्त्रमाथिको आरोप प्रत्यारोप, दरवार हत्याकाण्ड र राजतन्त्रलाई हटाउने निर्णय, राजाको नारायणहिटीबाट बहिर्गमन र महेन्द्र राजाले निर्माण गरेको महेन्द्र मञ्जिलमा एक्लो जीवनमा पुग्दाका उकाली ओराली सम्झेर मन कति विक्षिप्त हुँदोहो।

श्री ५ रत्नले आफ्नी दिदी सौताका छ जना छोरा छोरीको देखभाल गरी हुर्काएपछि अन्य साधारण नेपालीका टुहुरा नावालखहरुलाई पनि संरक्षण र अभिभावकत्व दिने निर्णय इतिहाका अन्य कुनै रानीले गरेका छैनन्।

पूर्व मुमाबडामहारानी रत्न

श्री ५ रत्न आफ्ना पति राजा महेन्द्रसँग नेपालका विभिन्न जिल्ला जाँदा बेबारिसे नावालखहरुमा ध्यान जान्छ। तिनलाई सुरक्षित अभिभावकत्व दिन २०१८ सालमा एउटा कानुन बनाई संस्था निर्माण गरेको देखिन्छ। प्रख्यात कानुनविद स्व. गणेशराज शर्मा भन्नुहुन्थ्यो, ‘श्री ५ रत्नले निर्माण गर्न लगाएको कानून कुनैपनि साधारण व्यक्तिको दिमागमा आउँदैन पनि र गर्न पनि सक्दैनन्। त्यो कानूनले राष्ट्रिय निर्देशिका ऐन २०१८।’

जस अन्तरगत २०२० देखि ७५ वटै जिल्लामा जग्गा वा घर अधिकरण गरी वाल मन्दिरहरु बने। राजनैतिक रंग नलाग्ने गरी सुरु गरिएको पहिलो गैह्रसरकारी संस्था आज पनि छ। तर, आज त्यसमा विभाजित राजनैतिक रंगले जथाभावी लतपतिएको अवस्थामा छ।

श्री ५ रत्नले सुरुमा आमा बुबा नभएका टुहुरा,बाबु मरी आमा पोइल (आजको भाषाको दोस्रो विवाह) गएकीका बच्चा, बाटामा भेटिएका वा आमा अस्पतालमा मरी अलपत्र परेका, अरुले दावी नगरेका आफन्तले त्यागेका र असहाय बालबालिकालाई आवासीय सुविधा दिई वालमन्दिरमै जागिरे आमाहरुलाई राखेर खानपिन सबै सुविधा गरी पठनपाठन समेत गराउनु भएको थियो।

उहाँको अभिभावकत्वमा जुन प्रकारले वालमन्दिर र त्यहाँ हुर्केका बालबालिकाको शान र गौरव थियो। त्यो २०४६ को परिवर्तनपछि विस्तारै घट्दै गएको देखिन्छ। राजनैतिक भागवण्डामा पर्न थालेपछि बच्चाहरु बेचेको अभियोगसमेत लागेको छापामा आएको पढेकी छु।

मेरो व्यक्तिगत धारणा छ—नेपाली वा विदेशी बाँझा महिला वा जोडीले नेपालका टुहुरा बालबालिका धर्म पुत्र–पुत्री लिन इच्छा गरे उनीहरुको हैसियत र बानी बुझेर दिनुपर्छ। बाँझी महिलालाई मात्र थाहा हुन्छ एउटा बच्चालाई काखमा राखेर मेरा बच्चा भन्न पाउँदा कस्तो अनुभूति हुन्छ र त्यो बच्चाले आमा पाउँदा कस्तो हुन्छ।

राजनैतिक परिवर्तनपछि पनि श्री ५ रत्नलाई राजमाता बनाएर बालमन्दिर टुहुराकी संरक्षक आमा बनाइदिइ राखेको भए के बिग्रने थियो र? समाजसेवीका बाह्र सत्ताइस कुरा गरी नथाक्ने, दलीय नेता विरोधको राजनीति गर्छन्।

श्री ५ रत्नका अरु पनि योगदान उल्लेखेनीय रहेका छन्। २०१६ सालदेखि प्रवेशिका परीक्षामा महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने छात्रालाई रत्न विद्यापदक प्रदान गरिँदै आएकोमा कहिले बन्द भयो मलाइ थाहा छैन। त्यस्तै, उहाँले ‘रत्न साक्षरतासिल्ड’ स्थापना गर्नु भएको थियो।

गाउँगाउँका महिलामा शिक्षा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको अभियान सुरुमा जिल्ला शिक्षाबाट सञ्चालित भएपनि पछि पञ्चायतको वर्गीय संगठन महिला संगठनले जिम्मा लियो। साक्षर हुन चाहने प्रत्येक महिलाले किताब, कापी, कलम, लालटिन र मट्टितेल पाउँदथे।

पछि झुट्टा विवरण पेस गरी रत्न सिल्ड हात पर्ने दाउपेच सुरु भयो। २०३२ सालमा जनकपुर अञ्चलको सुपरवेक्षणमा जाँदा त्रिविका विद्यार्थीले चलाउने भनिएको साक्षरता खोसेर पान पसलमा सामान बेच्न राखेको र त्यही राखेका हिसाबमा साक्षरताको संख्या त्यहाँकी प्रतिनिधित्व गर्ने राष्ट्रियपञ्चायत सदस्यले पेश गरी सिल्ड लिएको मेरो विवरण देखेर उनले मलाइ मानहानीको मुद्दासमेत लगाइन् । मैले मुद्दा जितें।

श्री ५ रत्नको एउटा भनाइ मेरो स्मृतिमा अझै छ,—‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ। आमाहरुले असल शिक्षा पाए केटाकेटी स्वतः देशका असल नागरिक बन्ने छन्।’ आजका नेताका प्रायः आमा अशिक्षित होलान्।

होस गुम हुनु अघि नै उहाँले २०१७ बारे केही बकिदिए धेरै अनुत्तरित प्रश्नहरु उत्तरित हुने थिए। नत्र कृष्णप्रसाद भट्टराईजीले ठट्यौलीमा भनेझै विपीसँग रत्नलाई ‘हग’ (अगालो हालेको) गरेको महेन्द्रले सहेनन् भन्ने विश्वास गर्नु पर्ला।

संगीत र साहित्यमा पनि महेन्द्रजस्तै चाख भएकी श्री ५ रत्नका स्वीकृतिबाट संगीतका लागि आजपनि सबभन्दा पुरानो रत्न रेकर्डिङ छ भने साहित्यका लागि रत्नश्री पत्रिकाको अभिभावकत्व लिई ‘रत्नश्री’ पदक वर्ष भरी छानिएका साहित्य रचनाको इनाम थियो।

वाल संठनले पनि २०२२ देखि ‘बालक’ भन्ने पत्रिका निकाल्थ्यो। २०२० सालको मुलुकी ऐनमा महिलाका अधिकारमा पनि सकारात्मक बुँदा संशोधन हुनुमा श्री ५ रत्नको योगदा रहेको बताउनुहुन्थ्यो अंगुरबाबा जोशी। स्मरणर होस उहाँ (जोशी) संविधान सुधार आयोगको पहिलो महिला सदस्य हुनुहुन्थ्यो।

सुधारिएको पञ्चायत संविधान संशोधन २०३८ मा भने कमल राणा सदस्य हुनुहुथ्यो। यी दुबैका अनुसार श्री ५ रत्न दानी, उदार मनकी र अरुलाई माया गर्ने संवेदनशील व्यक्तित्व हुनुहुन्छ। आफ्नो जन्मदिनमा बालवालिकालाई किताव बितरण गर्ने रे। नेपालका पाँचै विकास क्षेत्रमात्र होइन संसारका देशमा सबभन्दा धेरै औपचारिक भ्रमण गर्ने श्री ५ रत्न हुनुहुँदो रहेछ।

सालीको सालिन व्यक्तित्वले राजा महेन्द्रलाई साँच्चै आकर्षित पारेको रहेछ। आफ्नो विवाहसमेत गराइ दिने निर्वाचित प्रधानमन्त्रीलाई किन महेन्द्रले त्यस्तो कठोर कारवाही गरे जसले गर्दा नेपालको इतिहासमा उनीमाथि एक राजनीतिक कलंक लाग्यो? राजा महेन्द्रलले २०१७ सालमा राजनैतिक षड्यन्त्र नगरेका भए आज नेपाल एक परिपक्व संवैधानिक अधिराज्य रहेर विश्व सामु परिचितहुने थियो।

के त्यस्तो कारण पर्यो गृहमन्त्री हुँदाका विश्वासपात्र विपीलाई प्रधानमन्त्री भएपछि निष्काशन नै गर्नु परयो? महेन्द्रको मृत्यु विपी नेपाल फकर्नुभन्दा ६ वर्ष अगाडि नै हुन्छ। राजनेता र जननेतादुवै बूढो नभइकनै यो धर्ती छोडेर जान्छन्।

आज जीवितमा श्री ५ रत्न मात्र श्री ५ महेन्द्रकी अन्तरंग हुनुहुन्छ जसले जसले विपीलाई पनि निजकबाट चिनेको छ। होस गुम हुनु अघि नै उहाँले २०१७ बारे केही बकिदिए धेरै अनुत्तरित प्रश्नहरु उत्तरित हुने थिए।

नत्र कृष्णप्रसाद भट्टराईजीले ठट्यौलीमा भनेझै विपीसँग रत्नलाई ‘हग’ (अगालो हालेको) गरेको महेन्द्रले सहेनन् भन्ने विश्वास गर्नु पर्ला। विपी कलकत्तामा पढेका, ब्रिटिसको संगत गरेकालाई अंगालो हाल्नु नमस्कारको अर्काे अभिव्यक्ति थियो। राणाको जेल जीवनमा हुर्केका राजा महेन्द्रलाई महिला उपभोग्य वस्तुमात्र थिए अतः विपीको व्यवहार भद्दा देखियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो