कविता : बेरोजगार कवि
सेवा गर्छ समाजको र सबको – लेखेर छर्दै मसी,
भत्ता लिन्न कतै कुनै तरहको -उच्चा सभामा बसी।
राख्ने ज्ञान दिएर अक्षरहरू – गल्ली खुला गाउँमा,
के खाला बिचरा अनाथ कविले – लेखेर यो ठाउँमा! ।
।१।।
के होला कविता कुनै समयमा- मिल्दैन मेसोकिलो,
जे देख्यो सब मस्तिष्कमा रमण भो- छोड्दैन माटो हिलो।
सारा जीवनमा लगाई उसले -फाटो जुत्ता पाउमा,
के खाला बिचरा अनाथ कविले -लेखेर यो ठाउँमा!
।।२।।
गर्ने बात सुनाइ चस्स नमिठो -गल्ती हुनेका बीच,
अर्काको मन जित्न त कुशल भो -धोका छ आफैँसित।
आफू तर्न कदापि सक्दिन अरू- तार्दै गयो नाउमा,
के पायो बिचरा अनाथ कविले -लेखेर यो ठाउँमा!
।।३।।
राख्ने बिस्कुन शब्दका थरीथरी- लेखेर टुक्रा गरी,
अन्नादी फलफूल रोपण गरी- मिल्ला र के पेटभरि?
माला मिल्दछ एकथान पगरी -ढाक्ने भयो घाउमा,
के पायो बिचरा अनाथ कविले -लेखेर यो ठाउँमा!
।।४।।
लेख्दै यो कविता फुरेर हियमा- सारा पढून् लौ भनी,
लेखेको सब मान्दछन् सुन सबै-लेख्ने विचल्ली छ नि।
यस्तै हालत देख्दछु जगतको-बिक्दैन यो भाउमा,
के पायो बिचरा अनाथ कविले- लेखेर यो ठाउँमा!
।।५।।















Facebook Comment