लघुकथा : फिलिङ्गो

ईश्वर पोखरेल
१ असार २०८३ १०:४२

आगोको फिलिङ्गो झैँ झर्झराउँदो हुन्थ्यो। आन्दोलनताका शशिकान्तको क्रान्तिकारिता पनि त्यस्तै झर्झराउँदो थियो।

क्रान्ति सफल भएपछि नेताहरूलाई खबरदारी गर्ने अग्रपङ्क्तिमा सधैं शशिकान्त नै उभिएको हुन्थ्यो। ऊ गर्जँदै भन्थ्यो- “हामी सहिदको रगतको टिको लगाएर आएका हौँ, कात्रो त सधैँ गोजीमै बोकेर हिँड्छौँ। नेताहरूलाई ख्याल रहोस्- सिद्धान्त र निष्ठामा थोरै पनि गद्दारी भयो भने देशमा फेरि आगो बल्नेछ, सडकमा रगतको खोला बग्नेछ।”

समय फेरियो। आन्दोलनपछि शशिकान्त सांसद बन्यो; मन्त्री पनि भयो। भनौँ भने, त्यसपछिका दिनमा त उसको स्थायी बसोबास नै मन्त्री क्वार्टरमा हुन थाल्यो।

पहिलेको त्यो पातलो र छरितो ज्यान; विस्तारै मोटो हुँदै गयो। अहिले त उसको मोटाइ नाप्ने फित्ताले नापे पनि वा हैसियत नाप्ने यन्त्रले हेरे पनि, शशिकान्त सहरका रैथाने व्यापारीहरूभन्दा बढी मोटो देखिन्छ।

समयक्रममा आगोको फिलिङ्गो बाहिरबाट हेर्दा अझै उस्तै रातो र तातो देखिन त देखिन्छ; तर भित्रभित्रै त्यो केवल खरानीको डल्लो बनिसकेको हुन्छ, जसले कसैलाई पोल्दैन।

समयको खेल त हो नि- अहिले कसैले शशिकान्तलाई उसकै त्यो पुरानाे खबरदारी जुलुसको क्रान्तिकारी फोटो देखायो भने, ऊ आफैँ छाँगाबाट खसेजस्तै गरी झस्किन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *