निषेधाज्ञा प्रभावकारी नभए जारी गरेको औचित्य के ?

तर्कबहादुर थापा
४ भदौ २०७७ १२:१८

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भए पनि विहान भने भित्री गल्लीहरुमा ‘मर्निङवाक’ गर्नेहरुको कमी देखिएन।

सदा झैँ हातमा सानो लाठी बोकेका, स्पोर्ट सुज लगाएका र गञ्जी लगाएरा हिँड्नेको कमी थिएन। काठमाडौंको पशुपति क्षेत्र, गौशाला, पुरानो बानेश्वर क्षेत्रमा ‘मर्निङवाक’ गर्नेहरुको संख्या उल्लेख्य थियो। आज पहिलो दिन भएकाले केही छिटफुट ठाउँमा मर्निङवाक गर्नेको संख्या देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वीकार गरे।

साथै दाहालले भोलिदेखि यस्ता गतिविधिहरुमा पूर्ण रोक लगाउने प्रतिवद्धता पनि जनाएका छन्। ‘दुध र खाद्यान्नका पसलहरु खुलेनन् भन्ने गुनासो आएको थियो र हामीले त्यो सहज गरेका छौं,’ प्रजिअ दाहालले डिसी नेपालसँग भने, ‘मर्निङवाक गर्नेहरुको हकमा पनि आज पहिलो दिन भएर केही छिटफुट ठाउँमा मानिसहरु देखिए।

अर्को दिनदेखि यो विषय कडाइका साथ लागू हुन्छ।’ नयाँ बानेश्वर क्षेत्रमा रोकी राखिएका सवारी साधनहरु बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको भएकोले छोडिएको उनले जानकारी दिए। उनले भने, ‘हामीले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई पनि परिचय पत्रका आधारमा छोड्नु भनेका थियौं। त्यो कुरा लागू नभएको गुनासो आएपछि छोड्न भनेका हौं।’

यसअघि, सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको थियो। साउन ६ गते औपचारिक लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोनाको संक्रमण दिन दिनै बढ्दै गएको छ। दिन प्रतिदिन कोरोनाको संक्रमण बढेपछि सरकारले स्थानीय तहलाई नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि अधिकार दिएको थियो।

यही अनुरुप काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो। जनस्वास्थ्य विद रविन्द्र समिर भने लकडाउन, सिल वा निषेधाज्ञा जुनसुकै ‘टुल्स’ प्रयोग गरे पनि प्रभावकारी भएन भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयास अर्थहीन हुने जिकिर गर्छन्।

डिसी नेपालसँगको कुराकानीमा समिरले भने, ‘लकडाउन, सिल र विषेधाज्ञा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने ‘टुल्स’ हुन्। यी ‘टुल्स’हरुको कार्यान्वयन पक्ष फितलो भयो भने जुनसुकै ‘टुल्स’ प्रयोग गरेपनि अर्थहिन हुनेछन्।’

कोरोना मुख्य सडकमा जुलुसका लागि ननिस्किने भन्दै डा. समिरले मानव वस्ती भएका गल्लीहरु र टोलटोलमा कडाई गर्नु पर्नेमा जोड दिएका छन्। उनले भने, ‘लकडाउनका बेला पनि हामीले देख्यौं मुख्य सडकमा मात्र सवारी साधन र पैदल हिड्नेलाई चेकजाँच गरे। भित्री गल्ली र टोलहरुमा मान्छेको दैनिकीमा खासै परिवर्त भएको पाइएन। यदि अहिले प्रयोग गरेको ‘टुल्स’ (निषेधाज्ञा) पनि प्रभावकारी भएन भने वा गल्लीहरु र मानव वस्ति भएको टोलहरुमा यसको कार्यान्वयन भएन भने अझै पनि उस्तै अवस्था कायम हुनेमा दुईमत छैन।’

हाल नेपालमा कोरोनाका करिव २९ हजार संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ सय २० जनाले कोरोना कारण ज्यान गुमाई सकेका छन्।

काठमाडौं उपत्यमा मात्र कोरोनाका २ हजार २ सय बढी एक्टिभ केस रहेका छन्। उच्च जनसंख्याको चाप रहेको उपत्यकामा कोरोना संक्रमितहरुको दिन प्रतिदिन बढ्दो क्रम रोक्न पनि उपत्यकाका तीन वटै जिल्ला प्रशाससन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *