यूएईबाट फर्किने अझै ३० हजारभन्दा बढी, राजदूत भन्छन–‘नियमित उडानको आशामा छौँ’

बिनेश खनाल
५ भदौ २०७७ १६:५०

काठमाडौँ । यूएईबाट घर फर्किने सूचीमा अझै ३० हजारभन्दा बढी नेपाली रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । कोरोना महामारीले गर्दा यूएईको श्रम बजारमा व्यापक प्रभाव परेकोले अझै ठूलो संख्यामा नेपालीहरु फर्काउनु पर्ने अवस्था सिर्जना भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले डिसी नेपाललाई बताए ।

‘कोरोनाको असरले यूएईबाट सबैभन्दा धेरै नेपालीहरु घर फर्किनुभयो । यो बीचमा केही समय चार्टर्ड उडान समेत रोकिए,’ राजदूत ढकालले आबुधाबीबाट टेलिफोनमा भने, ‘भोलि फेरि नेपाल एयरलाइन्सको एउटा उडान हुँदैछ । घर फर्किन आवेदन दिनुभएका अझै ३० हजारभन्दा बढी नेपालीहरु दूतावासको सूचीमा हुनुहुन्छ । यहाँ अन्यत्रभन्दा ठूलै संख्या छ ।’ उनले थप चार्टर्ड उडानको लागि पनि दूतावासले पहल गरिरहेको बताए ।

उनका अनुसार समस्या परेको भन्दै दूतावासमा ४२ हजारभन्दा बढी नेपालीले आवेदन दिएका थिए । उनीहरुमध्ये प्राथामिकताका आधारमा करिब १५ हजार नेपालीहरु स्वदेश फर्किसकेको उनले जानकारी दिए ।

कोरोनाको असर यूएईमा व्यापक रुपमा परेको थियो । चलिरहेका कम्पनी, होटल, उद्योग तथा कलकारखाना ठप्प भएपछि थुप्रै नेपालीले रोजगारी गुमाएका थिए । केही कम्पनीहरुले त बेलतबी बिदा बस्न बाध्य पारेका थिए । यूएईमा रहेका अधिकांश नेपाली रोजगारीका लागि गएकोले श्रमबजार प्रभावित हुँदा धेरै नेपाली समस्यामा परेको उनले बताए ।

अप्ठ्यारोमा परेपछि यो अवधिमा दूतावासमा समस्या लिएर आउने पनि थुप्रै भएको उनको भनाइ छ । दूतावासमा आउने गुनासोहरु सम्बोधन गर्न आफूहरुले नियमसंगत रहेर निरन्तर प्रयास गरिरहेको राजदूत ढकाल बताउँछन् । तर, समस्या नै बढी भएपछि सबै समस्याहरु समयमै समाधान गर्न कठिनाइ भइरहेको उनले बतए ।

स्वदेश फर्किनेहरुको चाप बढिरहेकोले चार्टर्ड उडानको विकल्पमा सरकारले नियमित उडान सुचारु गर्नुपर्ने उनको तर्क छ । ‘समस्याहरु बढिरहेका छन् । संख्या ठूलो भएकोले हाम्रो विश्वास छ सरकारले नियमित उडान खुलाउनेछ । हामी आशावादी छौँ,’ उनले भने ।

यूएईमा गैरकानुनी हैसियतमा पनि नेपालीहरु कार्यरत छन् । दलालमार्फत भारतीय अवैध बाटो हुँदै उनीहरु त्यहाँ पुगेका छन् । अवैधानिक रुपमा गएकाले उनीहरु सरकारी तथ्याङ्कमा पर्दैनन् । कोरोना महामारीका कारण उनीहरु पनि समस्यामा परेको राजदूत ढकाल बताउँछन् ।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने सन्दर्भमा सरकारले बनाएको निर्देशिकामा पनि श्रम स्वीकृति लिएका कामदारका लागि मात्रै कल्याणकारी कोषको रकम खर्चेर टिकट काटिदिने व्यवस्था छ । श्रम स्वीकृति नगरी गएका कामदारको उद्धारको लागि सरकारी रकम खर्च नगरिने स्पष्ट नीति छ ।

तर, जाने बेलामा जुनसुकै माध्यमबाट गए पनि समस्यामा परेपछि गुनासोहरु लिएर नेपालीहरु दूतावासमै आउने गरेको उनले बताए । ‘श्रम स्वीकृति नलिइ भिजिट भिसामा भारतीय बाटो हुँदै यहाँ नेपालीहरु आउने गर्नुहुन्छ । ठ्याक्कै यति हुनुहुन्छ भन्ने यकिन छैन । तर, त्यो संख्या पनि ठूलै छ भन्ने बुझिन्छ,’ राजदूत ढकालले भने, ‘यहाँ आइसकेपछि कतिपय अवस्थामा उहाँहरु अप्ठयारोमा पर्नुहुन्छ । समस्या भएपछि उहाँहरु आउने पनि दूतावासमै हो । आफ्नै नागरिक समस्या लिएर आएपछि सहयोग नगर्ने कुरा भएन, हामी सहयोग गछौँ । तर, यस्तो अवस्थामा सहयोग गर्न हामीलाई नै कठिन हुन्छ । यो समस्या हामीले अहिले पनि झेलिरहेका छौँ ।’ उनले रोजगारीको लागि विदेश जाँदा श्रम स्वीकृति लिएर मात्रै जान आह्वान समेत गरे । अवैध तरिकारले विदेश जाँदा कठिनाइ पनि धेरै हुने र समस्या पर्दा सहयोग समेत नमिल्ने उनले बताए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *