हस्ताक्षर (कविता)

डिसी नेपाल
६ भदौ २०७७ ८:२८

अचेल सडकहरु बन्छन र भत्कन्छन्
मानौ ति भत्कनकै लागी बनाइएका हुन्
पुलहरु उचालिन्छन र खस्छन्
मानौ ति झर्नकै लागी उचालिएका हुन्
भवनहरु खडा गरिन्छन र ढल्छन्
मानौ ति ढाल्नकै लागी खडा गरिएका हुन्
यो सब सब यसरी हुन्छ
जसरी हावामा खडा गरिन्छ कल्पनाको फ्रेम र यथार्थमा त्यो बिलाउँछ

जब जब स्कुलको भग्नावेसमा नानीहरुको भग्न शरीर भेटिन्छन्
बुझ्नु ठेकेदारहरु कतै न कतै चुकेका छन्
जब जब आमाहरु सन्ततीहरुको भविष्य सम्झिएर कहाँलिन्छन्
बुझ्नु बाबुहरुले कतै न कतै गलत गरेका छन्
जब जब गाउँका अस्पतालमा रोगीहरु उपचार बिना फर्किन्छन
बुझ्नु डक्टरहरुसंग ओरिजिनल सर्टिफिकेट छैन

यहाँ,
सरकारी कार्यलयमा
हाम्रो फाइलसंगै केहि थान बन्द खाम च्यापिएपछि
कर्मचारीहरु मोटाउँछन्
टेबल टल्क नमिलेपछी टेबल वर्क गरिन्छ जसमा टेबल मुनिको बटन स्वाचालित हुन्छ

यो हाम्रै अहंम, लोभ, लालच सल्बलाईरहेको समय हो
यहाँ एउटा आँखा मागेर सम्पूर्ण दृश्य अपहरण गरिन्छ्
यहाँ एउटा हात मागेर मान्छेलाई जीन्दगीभर श्रमिक बनाइन्छ
यहाँ एउटा खुट्टा मागेर पुरै भुगोल कैद गरिन्छ

यो नैतिकता हराएको युग हो
हराएपछी नैतिकता हराएको छ मान्छे र
मौलाएको छ भ्रष्टता
र चलिरहेको छ भ्रष्टहरुको सम्मेलन

म आफै पनि भर्खरै त्यो सम्मेलनको माइन्युटमा हस्ताक्षर गरेर फर्किएको एउटा सदस्य हुँ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *