गर्मी छल्न बाहिर निस्किँदा इटालीमा बढ्यो कोरोना संक्रमण
रोम। इटालीमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ। आइतबार मात्रै २४ घन्टामा १ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ। यो संख्या मे महिनापछि अहिलेसम्म कै उच्च हो।

शनिवार मात्रै संक्रमितको संख्या १ हजार ७१ थपिएका थियोे। संक्रमितहरुमा ३० बर्ष उमेरका बढी छन्। इटालीमा अहिले धेरै मानिसहरु गर्मी छल्न विभिन्न ठाँउमा घुम्न जाने भएर पनि संक्रमण बढेको इटालीयन सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले गर्मी बिदा सकेर घर फर्किएसँगै धेरैमा संक्रमण देखिन थालेको छ।
इटालीमा मास्क प्रयोग गर्ने हरुको संख्या न्युन छ। मास्क मुख र नाक नभई पाखुरा र चिउडोमा धेरै देखिन्छ। विशेषगरी बेलुका ६ बजेदेखि मानिसहरु बिना मास्क घुम्न थालेपछि स्वास्थ मन्त्रालयले १७ अगस्टदेखि लागु हुने गरी भिडभाड हुने ठाउँहरुमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म मास्क अनिवार्य गरेको छ।

संक्रमण बढे पनि इटालीमा पुनः लक डाउन नहुने इटालीका स्वास्थ मन्त्री रोबेर्तो स्पेरान्साले आइतबार सञ्चार माध्यमहरुलाई बताएका छन्। आइतबारसम्म इटालीमा संक्रमितको संख्या २ लाख ५९ हजार ३ सय ४५ पुगेको छ भने २ लाख ५ हजार ४ सय ७० जना कोरोना मुक्त भएका छन्। हालसम्म मृत्यु हुनेहरुको संख्या ३५ हजार ४ सय ३७ पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment