खर्चिलो भएकैले अग्र्यानिक बन्दैनन् चिया उद्योग

डिसी नेपाल
९ भदौ २०७७ ८:३६

इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ। मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन्। रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफैँ सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन्। खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन्।

प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ। उद्योग÷सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ। लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन्।

“चियाको माग, मल अभाव, किसान आफैँमा आएको परिवर्तनले चिया विस्तारै प्राङ्गारिक त बन्दै छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भन्छन्, “तर झण्झटिलो प्रक्रिया छ ।” राईका अनुसार चियाको प्राङ्गारिक प्रमाणीकरण गर्ने अनुसन्धानकर्ता नेपालमा दुईदेखि तीन जना मात्र छन्। अन्य अनुसन्धानकर्ता विदेशबाटै ल्याउनुपर्ने भएकाले खर्चिलो हुने गर्छ । “फेरि आफू वा आफ्नो वरिपरिका चिया उद्योगको अनुसन्धानकर्ताले पनि सर्वेक्षण गर्न पाइँदैन। अरूतिरबाट ल्याउँदा बढी खर्चिलो नै हुन्छ”, राई भन्छन्। चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन् ।

उन्नति परियोजनामार्फत सहयोग पाउँदा केही उद्योगले प्रमाणीकरण गरेका थिए तर अन्य सङ्घसंस्थाले सहयोग नगर्दा महँगो खर्च उद्योग आफैँले बोक्नुपर्छ । प्राङ्गारिकीकरण गरेर मात्र भएन वार्षिक प्रमाणपत्रको नवीकरण गर्नुपर्छ । नवीकरणका लागि रकम खर्चिनुपर्ने हुँदा उद्योगीले चाहेर पनि प्रमाणपत्र लिन सकेका छैनन् ।

प्राङ्गारिक प्रमाणपत्र लिन उद्योगमा संलग्न किसान र किसानले ल्याउने चिया कति क्षेत्रफलमा छ भन्ने विषय मुख्य हुन्छ । किसान र चियाखेती गरिएको जमिन बढी भए प्रमाणीकरणका लागि बढी खर्च लाग्ने गरेको जिल्ला चिया उत्पादन सहकारी सङ्घका अध्यक्ष प्रेमराज गुरुङ बताउछन्। प्रमाणपत्रका लागि खर्च मात्र नभई लामो समय लाग्ने गरेको गुरुङको बुझाइ छ। “यो सबै खर्च जोड्दा त चियाको अन्य काममा पनि लाइन्छ भन्ने लाग्छ र प्राङ्गारिकीकरण गरिँदैन”, गुरुङले भने। उनले प्रमाणपत्र लिनका लागि खर्च कम लाग्ने भए जिल्लाका धेरै उद्योग प्राङ्गारिक भइसक्ने बताए।

जिल्लामा १०० भन्दा बढी चिया उद्योग छन् तर हालसम्म १४ उद्योग मात्र प्रमाणीकरण भएका छन् । तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, ग्रीनहिल चिया उद्योगले प्रमाणपत्र लिएका छन् । त्यस्तै कञ्चनजङ्गा चिया उद्योग, सन्दफू चिया उद्योग, जस्वीरे चिया उद्योग, दाजुभाइ उद्योग, मिस्टम्याली उद्योग, गोर्खा टी स्टेट, इलामेली चिया, ग्रीन टी उद्योग, ओसिस चिया उद्योगले पनि प्राङ्गारिक प्रमाणपत्र लिएका छन्।

अरू उद्योग प्रक्रियामा गए पनि अन्तिम प्रमाणपत्र भने लिएका छैनन् । पछिल्लो समय जिल्लाको सबैभन्दा बढी चिया उद्योग भएको सूर्योदय नगरपालिका (सूनपाले उद्योगलाई प्राङ्गारिकीकरण गर्न ताकेता गरे पनि आर्थिक सहयोग भने गरेको छैन ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *