बोर्डिङका शिक्षकको हात अब रित्तो

डिसी नेपाल
१४ भदौ २०७७ ६:५३

हेटौंडा। हेटौंडा–१० मा रहेको सोलिड्यारिटी इन्टरनेसल एकेडेमीमा अध्यापन गराउँदै आएकी माया छत्कुलीले लकडाउन सुरु भएदेखि विद्यालयबाट आफूले लिने गरेको तलब पूरा नपाएको गुनासो गरिन्। चैतसम्मको तलब लिए पनि बैशाखदेखि आधा तलबमात्र बुझ्नुपरेको बाध्यता उनले उल्लेख गरिन्। लकडाउनका कारण विद्यालयमा विद्यार्थी भर्ना नखुलेका कारण विद्यालयको आम्दानी ठप्प रहेका कारण विद्यालयले शिक्षकलाई तलब दिन नसकेको कुरा आफूहरुले पनि बुझको उनको भनाइ छ।

तलब थोरै पाए पनि मन बुझाएर पठनपाठन काम रोक्न नसकेका शिक्षकलाई भदौदेखि तलब दिन नसक्ने भन्ने प्याब्सनको निर्णय शिक्षकको हितविपरीत भएको उनले बताइन्। उनले भनिन्–अहिलेको अबस्थामा थोरैमात्र तलब दिइए पनि सहज अबस्था भएपछि दिँदा पनि त हामीले मन बुझाउँथ्यौं। तर, दिनै नसक्ने कुराले हाम्रो हितविपरीत निर्णय भएकोमा चिन्ता लागेको छ। विद्यालयलाई अलि अप्ठेरो परेर शिक्षकलाई बेतलबी बिदा दिँदा सहज अबस्था आउँदा कसरी विद्यालय फर्केलान् भनेर विद्यालय प्रशासनले सोच्नुपर्छ।

निजी विद्यालयका शिक्षकले अब तलब नपाउने निर्णय गरिएको छ । हालसम्म जेनतेन गरेर पनि तलब खुवाइरहेको अबस्थामा भदौदेखि तलब खुवाउनै नसक्ने भएको निजी विद्यालयले जनाएका छन्। शनिबार प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिले विज्ञप्ति जारी गर्दै भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने बताएको हो।

मकवानपुरका निजी विद्यालयले शिक्षक र कर्मचारीलाई तलब दिन नसक्ने उद्घोष गरेका छन्। कोरोनाका कारण विद्यालय बैशाखबाट बन्द रहेकोले भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने उद्घोष गरिएको हो। प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुबेदी र प्याब्सन नगर कार्यसमिति हेटौंडा अध्यक्ष राजकुमार नहर्कीद्वारा जारी विज्ञप्तिमा वैकल्पिक शिक्षण सिकाइका माध्यमद्वारा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिइए पनि मासिक शुल्क नउठ्दा शिक्षक र कर्मचारीलाई तलब दिन सक्ने अबस्था नभएको बताइएको छ।

लकडाउनको अबस्थामा पनि प्रविधिका माध्यमबाट विद्यार्थीलाई पठनपाठन नरोकेका निजी विद्यालयका शिक्षकले भदौदेखि तलबभत्ता नपाउने भएका छन्् । वैकल्पिक सिकाइमा सामुदायिक विद्यालयका शिक्षक र निजी विद्यालयका शिक्षक उत्तिकै लागिपरेर विद्यार्थीलाई शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।

सामुदायिक विद्यालयका शिक्षकलाई भने सरकारले नियमितरुपमा तलब खुवाउँदै आएको छ । कोरोनाका कारण नयाँ शैक्षिक सत्रको सुरुबाट विद्यालय बन्द रहे पनि वैकल्पिक शिक्षण सिकाइमार्फत् निजी विद्यालयले पठनपाठन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा चैतसम्म सबै निजी विद्यालयले सबै शिक्षक र कर्मचारीको आर्थिक दायित्व चुक्ता गरिसकेको उल्लेख छ । वैशाखदेखि साउन महिनासम्म विद्यालयले व्यबहारिकरुपमा केही रकम शिक्षक र कर्मचारीलाई उपलब्ध गराएकोमा भदौदेखि दिनसक्ने अबस्था नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *