सप्तरीमा पोखरीमा डुबेर बेपत्ता भएकी किशोरी ६ घण्टापछि जिउँदै निस्किएपछि…

डिसी नेपाल
१४ भदौ २०७७ १०:४३

सप्तरी । कोरोना संक्रमितको संख्या बढिरहेका बेला दैवी शक्ति उत्पन्न भएको भन्दै बलानबिहुल गाउँपालिकामा हजारौंको भीड जम्मा हुन थालेको छ । मन्दिरहरूमा समेत नित्यपूजाबाहेकका काममा रोक लगाइएका बेला बलानबिहुल–६ (साविकको रौतहट गाविस) मा शुक्रबारदेखि दैवी शक्तिको दर्शनका लागि भन्दै भीड जुट्न थालेको हो । आजको कान्तिपुर दैनिकमा अवधेशकुमार झाले समाचार लेखेका छन् ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा, कोरोना संक्रमणबाट जोगिन कायम गर्नुपर्ने दूरी र मास्क प्रयोगलगायत कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी जनप्रतिनिधिसहितको भीड स्थानीय वरकी पोखरीमा जम्मा भएको हो । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार गत सोमबार साँझपख उक्त पोखरीनजिक गाउँका ६ जना किशोरी घाँस काट्न गएका थिए । घर फर्कने क्रममा मुनचुनकुमारी दासले पोखरीमा फुलेको फूल टिप्न खोज्दा डिलमा रहेको रूखमा ठूलो आवाज आएको र साथीहरूले हेर्दा ती किशोरी पोखरीमा डुबेको अध्यक्ष गोइतको दाबी छ ।

मुनचुन डुबेपछि स्थानीयले पोखरीभरि खोज्दा फेला नपारेको तर राति १२ बजेतिर डिलमा फेला परेको उनले बताए । पोखरीमा डुबेको झन्डै ६ घण्टापछि उनी जिउँदै निस्किनु दैवी चमत्कार भएको भन्दै शुक्रबारदेखि किशोरीलाई हेर्नेको घुइँचो लागेको हो । शनिबार सञ्चारकर्मीहरूको टोली पुग्दा पूर्वमन्त्री तथा नेकपाका नेता उमेशकुमार यादव, प्रदेश सांसद गोविन्दबहादुर न्यौपाने, गाउँपालिका अध्यक्ष दयानन्द गोइतसहित जनप्रतिनिधि र सर्वसाधारणको भीड लागेको थियो ।

उक्त पोखरी भारतीय सीमानजिकै पर्छ । जिल्लाका विभिन्न ठाउँ, सिरहा र सीमावर्ती भारतीय क्षेत्रबाट समेत किशोरीलाई हेर्न सर्वसाधारण ओइरिएका छन् । साइकल, मोटरसाइकल, गोरुगाडा, टेम्पोमा मात्र होइन, नजिकका बस्तीबाट पैदलै पनि परिवारसहित पुग्नेहरूको लाम लागेको छ । पोखरीनजिकै रहेको मन्दिरको अग्रभागमा मुनचुनकुमारीलाई राखिएको छ । मन्दिरको मूलगेटमा दानपेटिका छ । दर्शन गर्न आउनेहरूले मुनचुनकुमारीलाई ढोग्दै, पैसा चढाउँदै मन्दिरमा समेत दर्शन गर्ने गरेका छन् ।

मुनचुनले आफू डुबेपछि भित्र ठूलो मन्दिर देखेको र त्यहाँ एक जना बाबा भेटेको दाबी गरेकी छन् । ऐतिहासिक पोखरी भएको र आश्चर्यको घटना भएकाले दैवी शक्तिको विश्वासमा भीड लागेको अध्यक्ष गोइतले बताए । शनिबार त्यहीं भेटिएका पूर्वसिँचाइमन्त्री उमेश यादवले आस्थाका कारण सर्वसाधारणको भीड उर्लेको बताए । ‘पोखरी ऐतिहासिक हो, पुरातत्त्व विभागले चासो लिएर उत्खनन र खोजबिन गर्नुपर्छ,’ उनले भने, ‘कोरोनाको संक्रमण रहेकाले स्थानीय सरकारले दूरी कायम गरी व्यवस्थापन मिलाउनुपर्छ ।’

केही सशस्त्र र नेपाल प्रहरी भने एक कुनामा निरीह बनेर बसेका थिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले किशोरी डुबेर ६ घण्टापछि जीवितै बाहिर निस्केको घटना विश्वास नभएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *